संसद्

प्रस्तावित राजदूतको कार्ययोजना - समुद्रदेखि सगरमाथासम्म भन्ने अभियान गर्दै वर्षेनी हजारौँ पर्यटकहरू नेपाल ल्याउन

इकागज |
भदौ २७, २०८१ बिहीबार १५:२७ बजे

काठमाडौँ - संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंका लगायतका देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई लगायतका प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ । सुनुवाइका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबीच नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरूलाई क्रियाशील बनाउन पहल गर्ने बताए । ​


दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने, नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तराष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने उनले बताए । उनले समुद्रदेखि सगरमाथासम्म भन्ने अभियान सञ्चालन गर्दै वर्षेनी हजारौँका संख्यामा पर्यटकहरू नेपालसम्म ल्याउन, नेपालका हिमशिखरहरूको प्रचार प्रसार गर्ने योजना सुनाए । नेपाली राजदूतावास म्याड्रिडबाट सहप्रमाणीत मुलुक माल्टासँग दुईपक्षीय हितका आधारमा सम्बन्ध अघि बढाउने उनको भनाइ छ ।  

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने बताए । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गर्ने उनको भनाइ छ । भट्टराईले लुम्बिनी, काठमाडौं र कोलम्बोबीच  नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए । 

सरकारले साउन १४ गते विभिन्न १७ देशका लागि राजदूत सिफारिस गरेको थियो । संविधान अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

 


Author

थप समाचार
x