संसद्

मेटमणिले भनेः मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रतता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भीर छु

इकागज |
भदौ २८, २०८१ शुक्रबार २१:४८ बजे

तस्विरः फाइल फोटो

काठमाडौं - ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ’ भन्ने अभिव्यक्तिले विवादित नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीले विज्ञप्ति निकालेर प्रष्टीकरण दिएका छन् । आफूले अभिव्यक्त गरेको पूर्ण अंश र आशयलाई तोडमोड गरी विषयलाई अतिरञ्जित गर्दै विवादित बनाउने प्रयास गरेको उनको जिकिर छ ।

उनले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्, ‘न मेरो त्यस्तो आशय थियो न त नियत नै । कार्यक्रममा मेरो अभिव्यक्ति हेर्ने सुन्ने जो सुकैले यो सजिलै बुझन सक्नुहुनेछ ।’


उनले गलत महाकाली सन्धिको कारणले नै भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा दाबी गरिरहेको र महाकाली सन्धि नै सच्चाउनु’ पर्ने विषयलाई इंगित गरेको बताएका छन् ।

म मुलुकको अखण्डता, सार्वभौमसत्ता र स्वतन्त्रताप्रति प्रतिवद्ध रहने कुरामा कुनै आशंका नगर्न आग्रह गर्दछु । र, उक्त भूभाग हाम्रो पार्टीको समेत दाबीका आधारमा संविधानको अंग बनाइएको कुरामा म सदैव सचेत थिए, छु र रहने छु,' उनले भनेका छन ।

उनले नेपाल भारतवेष्ठित भएकोले बीआरआई सम्झौता कार्यान्वयनमा जोड दिँदै आएको कुरा पनि उल्लेख गरेका छन् ।

‘म मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रतता, सार्वभौमसत्ता र पार्टी जीवनको विषयमा गम्भिर र संवेदनशील छु । उपरोक्त विषयको अहित र आँच पुग्ने गरी न कुनै अभिव्यक्ति दिएको थिए, न दिएको छु, न त भविष्यमा दिन्छु नै । म सधैँ मुलुकको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको थिए र रहिरहने प्रतिबद्धता व्यक्त गर्दछु,' चौधरीले अगाडि भनेका छन् ।

यो विवादित अभिव्यक्ति दिएपछि महासचिव घनश्याम भुसालले चौधरीलाई ३ दिने स्पष्टीकरण सोधिसकेका छन्।

 


Author

थप समाचार
x