संसद्

सदन सञ्‍चालन गर्नेबारे सभामुख घिमिरेले गरे दलका प्रमुख सचेतक र सचेतकसँग छलफल

इकागज |
भदौ ३०, २०८१ आइतबार १५:१९ बजे

फाइल फाेटाे

काठमाडौँ - प्रतिनिधिसभालाई सहज रुपमा अघि बढाउने विषयमा सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

संसद सचिवालय सिंहदरबारमा भएको छलफलका क्रममा सभामुख घिमिरेले सदनको गतिरोध हटाई सहज रुपमा सदनलाई अघि बढाउन आग्रह गरेका थिए । यसअघिको बैठकमा हिंसा शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने सभामुखको रुलिङसंगै माओवादीले विरोध जनाउँदै सदन अवरुद्ध गरेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले नै सदनमा निरन्तर विरोध जनाउने निर्णय गरेपछि सभामुखले छलफल गरेका थिए । 


छलफलपछि माओवादी केन्द्रका मुख्य सचेतक हितरात पाण्डेले माओवादीले सदनमा उठाइरहेको विषयवस्तुमा छलफल भएको जानकारी दिए । सदनलाई सहज रुपमा अघि बढाउन सभामुखले गरेको आग्रहका बारेमा पार्टीभित्र छलफल गरेर अघि बढ्ने भन्दै अहिलेसम्म पार्टीको अडान कायमै रहेको उनले बताए । 

त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले सदनको गतिरोधका विषयमा छलफल भएको र सभामुखको रुलिङलाई सबैले मान्नुपर्ने बताए । सदनको नियमावली अनुसार सबै दलहरू अघि बढ्नुपर्नेमा आफूहरूको सुझाव रहेको उनले बताए । ​

उनले सदनलाई सहज रुपमा अघि बढाउने र आफ्नो कुराहरू राख्ने गरि अघि बढ्न आग्रह गरिएको जानकारी दिए । त्यस्तै बर्तौलाले उपसभामुखको विषयमा सत्तापक्ष दलले भन्दा प्रतिपक्षी दलले नै उचालेको तर्क गरे । यसमा रास्वपाले नै उपसभामुख जस्तो संस्थाको हुर्मत लिने काम गरेको र सरकारलाई नै विवादमा ल्याउने प्रयास गरेको उनको भनाइ छ ।

सभामुखसँगको छलफलका क्रममा एमाले, कांग्रेस, माओवादी र राप्रपाका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए । 


 


Author

थप समाचार
x