संसद्

भाषालाई मिलाएसँगै सहकारी ठगी विशेष समितिको अन्तिम प्रतिवेदनमा सबै सदस्यहरूको हस्ताक्षर

इकागज |
भदौ ३१, २०८१ सोमबार १४:५१ बजे

फाइल फाेटाे

काठमाडौँ - सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष समितिको अन्तिम प्रतिवेदनमा सबै सदस्यहरूले हस्ताक्षर गरेका छन् । 

सिंहदरबारमा सोमबार बसेको समितिको अन्तिम बैठकमा प्रतिवेदनमा रहेका भाषालाई मिलाएसँगै सबै सदस्यहरूले हस्ताक्षर गरेका हुन् । समिति संयोजक सूर्य थापाले निष्पक्ष रुपमा अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको उल्लेख गरे ।  


पार्टीगत स्वार्थभन्दा मागि उठेर सहकारी प्रकरणमा छानबिन गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको उनले बताए ।  समितिले ६६ वटा बैठकबाट तथ्य केलाउने काम गर्दै दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको उनको भनाइ छ । 

प्रतिवेदनमा सहकारीबाट ऋण लिंदा रास्वपा सभापति रवि लामिछानेको कुनै संलग्नता नदेखिएको तर गोर्खा मिडियामा खर्च गर्ने क्रममा भने संलग्नता देखिएको उल्लेख गरिएको समिति सदस्य एवं माओवादी सांसद लेखनाथ दाहालले बताए । सहकारीबाट अपचलन गरिएको रकम खर्च गर्ने काम पनि दुरुपयोग हो भन्ने ठहर रहेको उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य एवं रास्वपा सांसद शिशिर खनालले सहकारीबाट पैसा लाने भूमिकामा रवि लामिछाने नदेखिएको बताए । गोर्खा मिडियामा काम गर्दा कानुनी उत्तरदायित्व वहन गर्नुपर्ने कुरामा जोड दिइएको उनले बताए । 

लामो छानबिनका क्रममा समितिले  ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ ।

सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न संसदले जेठ १५ गते छानबिन समिति गठन गरेको थियो । समितिको तीन महिनाको समयअवधि भदौँ २३ गते सकिएपनि सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको थियो । थप गरेको अन्तिम समय अगावै समितिले अन्तिम प्रतिवेदन तयार गरेको हो ।  


Author

थप समाचार
x