संसद्

राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको अब सङ्ख्या निर्धारण गरिनुपर्छ: समिति

इकागज |
असोज ११, २०८१ शुक्रबार १८:२४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सङ्घीय संसद, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको टोलीले केही दिनअघि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र आसपासमा गरेको अनुगमनको समीक्षा गरेको छ ।

उक्त टोलीले आज निकुञ्ज, सीमसार क्षेत्र, रसुवागढी नाका र नुवाकोट दरबार क्षेत्रको वस्तुस्थितिबारे समितिको आजको बैठकलाई जानकारी गरायो । निकुञ्जबाट लाभ लिन सकिने क्षेत्र र स्थानीयलाई परिरहेको समस्या पन्छाउन चाल्नुपर्ने कदमबारे उत्तरगयामा सरोकारवालासँग गरिएको अन्तरक्रियाबारे पनि समितिलाई जानकारी गराइयो ।


रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको निकुञ्जबाट प्रभावित स्थानीयसँगको छलफलमा स्थानीय र कर्मचारीबीच समन्वयको अभावका कारण सामान्य विषयमा समेत अन्तरविरोध पाइएको टोलीको निष्कर्ष छ ।

 त्यसक्षेत्रमा निकुञ्जको सीमाबाट एक किलोमिटर क्षेत्रभित्र कुनै उद्योग सञ्चालन गर्न नपाइने प्रावधानले बढी मर्का परेको गुनासो गर्दै स्थानीयले समस्या सम्बोधन गर्न आग्रह गरेको थिए । उक्त प्रावधानले उद्योग सञ्चालनको त्यस क्षेत्रमा सम्भावना नरहेको टोलीको ठम्याइ छ ।

 निकुञ्ज वरपर वन्यजन्तुले गर्ने क्षति तथा निकुञ्जको क्षमताअनुरुप वन्यजन्तु व्यवस्थापनका लागि सङ्ख्या निर्धारण नभएका कारण पनि समस्या देखिएको सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । संसदीय टोलीले यही असोज ६ देखि ८ गतेसम्म त्यस क्षेत्रको अवलोकन भ्रमण गरेको थियो ।

टोलीले त्यस क्रममा नुवाकोट दरबारको समेत अवलोकन भ्रमण गरेको थियो । कोभिड-१९ को सङ्क्रमण भएसगै रोकिएको दरबारको पुनःनिर्माणलाई गति दिन सरोकारवाला पक्षलाई थप घचघच्याउन पर्ने आवश्यकता देखिएको सभापति शर्माको भनाइ छ ।

समितिले निकुञ्ज वरपरका क्षेत्रमा देखिएका समस्याबारे सरकारका प्रतिनिधि र सरोकारवाला पक्षसँग थप गहन छलफल गर्नुपर्ने आवश्यकता औँल्याएको छ । समितिको टोलीले केही दिनभित्रै शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको पनि अवलोकन अध्ययन अवलोकन भ्रमण गर्ने सभापति शर्माले जानकारी दिनुभयो । त्यसका लागि समितिले योजना तयार गरिसकेको छ । -रासस

 


Author

थप समाचार
x