संसद्

'विपतको पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति'

इकागज |
असोज १५, २०८१ मंगलबार १६:२२ बजे

फाइल फाेटाे

काठमाडौँ - सांसदहरूले प्राकृतिक विपतको पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको जनाएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा उनीहरुले मौसम पूर्वानुमान अनुसार ठूलो बर्षा हुन सक्ने आँकलन भएपनि त्यस अनुसारको पूर्वतयारी र उद्धारका काम समयमा हुन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका हुन् ।


बैठकमा सांसद गगन कुमार थापाले पूर्वतयारी र उद्धारका काममा भएका आलोचनालाई स्वीकार गर्दै उद्धार र राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिनुभयो । विपद्का बेला सरोकारवाला निकायका प्रमुखहरूले प्रभावकारी भूमिका खेल्न नसकेको उनको भनाइ छ ।

थापाले रात्रि बस सञ्चालन नगर्ने निर्णय हुँदाहुँदै पनि सञ्चालन गरेकाले झ्याप्ले खोलामा ठूलो विपत भएको भन्दै यसको छानबिन हुनुपर्ने माग गरे । 

त्यस्तै रास्वपा सभापति रवि लामिछानेले विपतको पूर्वतयारी राम्रोसँग हुन नसकेको र विपद्पछि राजमार्गमा अलपत्र नागरिकको सहज ढंगले उद्धार हुन नसकेको आरोप लगाए । 

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले काठमाडौंमा नै उद्धारको काम निकै ढिलाई नभएको र क्षति धेरै भएको बताए । बाटो अवरुद्ध भएका बेला हवाई भाडा निकै महङ्गो भएकाले यसलाई नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै अन्य सांसदहरूले तीनै तहका सरकारको ध्यान राहत, पुनःस्थापना र उद्धारमा केन्द्रित हुनुपर्ने, पीडितलाई छिटो सहयोग गर्नुपर्ने धारणा राखेका थिए । 


Author

थप समाचार
x