राष्ट्रिय सभा : सरकारलाई विपक्षीको 'चोर औँला'
'रुपा सुनारको विषयमा वर्तमान सरकारको जति निन्दा गरे पनि कम हुन्छ’
काठमाडौँ : राष्ट्रिय सभा आठौँ अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरू सरकारमाथि खनिएका छन् । बिहीबारको पहिलो बैठकमा विपक्षी दलका प्रतिनिधिहरूले सरकारका कामकारबाहीका विषयमा ‘चोर औँला’ ठड्याए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चुनावमा जान सरकारकै नियम बाधक रहेको जनाएको छ । बैठकलाई सम्बोधन गर्दै कांग्रेस राष्ट्रिय संसदीय दलका नेता राधेश्याम अधिकारीले निषेधाज्ञा गरेर चुनाव गराउन खोज्नु गलत भएको बताए ।
उनले कोभिडकालमा सरकार चुनाव गर्न कस्सिएको भए पनि परिस्थिति अनुकुल नभएको जिकिर गरे । अधिकारीले सीडीओमार्फत सरकार चलाइएको आरोपसमेत लगाए । प्रधानमन्त्रीले संघीय संसदमाथि विश्वास नगर्दा ५ जनाको सरकार चलाउनुपर्ने बाध्यमता आएको अधिकारीको आरोप छ ।
सांसद अधिकारीले सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकै कारणले कोठा भाडामा नदिएको प्रकरणमा आरोपितलाई मन्त्रीले दबाब दिएर आफ्नै गाडीमा राखेर छुटाएको घटनाको जति निन्दा गरेपनि कम हुनेसमेत बताए ।
उनले भने,‘दलीतको सवालमा केही बोल्नैपर्ने भएको छ । गएको वर्ष रुकुमको घटना दर्दनाक रुपमा यहाँ उठाइएको थियो । यसपाला काठमाडौँको मुटुमा नै रुपमा सुनारले घरबहाल दलित भएकै कारणले बस्न नपाएको तितो कुरा सतहमा आएको छ । त्यसभन्दा पनि बढी यो कुराले हाम्रो शिर निहुँरिएको छ कि बहालवाला मन्त्रीले आफ्नै गाडीमा रुपाको जाहेरीमा अनुसन्धान सुरु भएका व्यक्तिलाई दबाब दिएर छुटाउनुभयो र अनुसन्धानमा हस्तक्षेप गर्नुभएको छ । यसकुरामा बर्तमान सरकारको जति निन्दा गरेपनि कम हुन्छ ।’
त्यस्तै माओवादी केन्द्र राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले प्रधामन्त्री र राष्ट्रपतिले एकलौटी अधिकार प्रयोग गरेको आरोप लगाए । आफ्ना गुटका मानिसलाई मात्रै अघि बढाउने परम्पराले राष्ट्रिय संकट आएको उनको भनाई छ । उनले ओलीभित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा पुराएकोसमेत प्रष्ट पारे ।
'मुलुकमा कोभिड महामारीको संकट छ । त्यो संकटभन्दा ठूलो संकट प्रतिगमनको संकट हो', सम्बोधनका क्रममा उनले भने,'हामीलाई सुरुमा दुई तिहाइको दम्भ देखायौँ । त्यसपछि हामीले न पार्टी जोगाउन सक्यौँ, न जनप्रतिनिधि संस्थालाई जोगाउन सक्यौँ । हामी असफल भयौँ ।'
सम्बोधनको अन्त्यमा शर्माले भने,'यो अधिवेशन दुई चार दिनमै अन्त्य नहोस् ।'
त्यसैगरी राष्ट्रिय सभामा जनता समाजवादी पार्टीको तर्फबाट सम्बोधन गर्दै सांसद प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड बनाएको आरोप लगाइन् ।
साथै आफ्ना नेता र पार्टीलाई प्रधानमन्त्री ओलीले झुक्याएकोसमेत उनले बताइन् । उनले भनिन्,‘मेरा आदरणीय नेताहरु, जो प्रधानमन्त्री ओलीजीको झुठो आश्वासनको जालमा फस्नुभएको छ। उहाँहरुलाई त्यो छलकपट रुपी जालबाट बाहिर निस्किन र जनता समाजवादी पार्टीलाई बलियो बनाउन हार्दिक अनुरोध गर्दछु ।'
'अदालतबाट समाधान हुँदैन'
राष्ट्रिय सभामा सत्तारुढ एमालेको प्रतिनिधित्व गर्दै सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु नहुने बताए । प्याकुरेलले शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै राजनीतिक विवादलाई राजनीतिक रुपमै समाधान गर्नुपर्ने बताएका छन् ।राजनीतिक समस्याको समाधानको थलो न्यायपालिका नहुने उनले बताए ।
उनले भने,‘राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु जरुरी छ । शक्ति पृथकीकरणको सिद्धान्त नबुझेर न्यायपालिकामा लगेको । न्यायपालिकामा हानी गर्न लागेको त्यसप्रति सचेत हुन जरुरी छ । राजनीतिक विवादको अन्त्य राजनीतिक रुपमै गर्नु आवश्यक छ । राजनीतिक विवादको अन्त्य हामीले अन्तबाट खोज्यौँ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अलग अलग जुन शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझीकन हरेक कुरोलाई न्यापालिकामा जसरी हामी लगिरहेका छौँ र न्यायापालिकालाई हानी गर्न जुन प्रयत्न भइरहेको छ । त्यसबाट सचेत हुन आवश्यक छ । प्रत्येक राजनीतिक समस्याको थलो न्यायपालिका हुन सक्दैन ।’
प्याकुरेलले विपक्षी राजनीतिक दलहरुले संविधानको मर्म विपरित निर्दलीयताको वकालत गरेको भन्दै दु:ख व्यक्त गरे । वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै आजसम्मको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा प्याकुरेलले जोड दिए ।
उनले भने,‘नेपालको निरंकुश राजतन्त्रको अन्त्यको लडाँइ होस् या कुनैपनि लोकतान्त्रिक आन्दोलन होस्, त्यसमा वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै सम्भव भएको इतिहासलाई एकचोटी सबैले स्मरण गर्नुपर्ने अनुरोध गर्न चाहान्छु । वाम प्रजातान्त्रिक शक्तिहरुको एकता र सहकार्यमा विभाजन आउनासाथ उपलब्धीहरू गुमेको हाम्रो इतिहास साक्षी छ । त्यसप्रति सबैलाई मनन गर्न अनुरोध गर्न चाहान्छु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया