संसद्

सांसहरूले एकै स्वरमा भने - पूर्वप्रशासकहरूलाई अख्तियारमा नियुक्त गर्न हुँदैन

इकागज |
कात्तिक २६, २०८१ सोमबार १५:५९ बजे

फाइल फाेटाे

काठमाडौँ - सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वप्रशासकहरुलाई नियुक्त गर्न नहुने धारणा राखेका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनीहरुले लामो समय निजामती क्षेत्रमा काम गर्ने र अवकाश भएपछि राज्यका अन्य निकायमा नियुक्त गर्ने काम रोक्नुपर्नेमा जोड दिएका हुन् ।


बैठकमा सांसद माधव सापकोटाले अख्तियारको संरचनामा सुधार गरि लाभको पदमा नबसेका विज्ञलाई जिम्मेवारी दिने व्यवस्था गर्नुपर्ने बताए । जीवनभर अख्तियारको परिचालन गर्ने र उतरार्धमा गएपछि अख्तियारमा नियुक्ति खाने काम उचित नभएको उनले बताए । 

त्यस्तै सांसद अर्जुननरसिंह केसीले अख्तियारलाई भागवण्डाबाट मुक्त गरि निष्पक्ष रुपमा सिफारिस गर्नुपर्नेमा जोड दिए । अख्तियार निष्पक्ष भएर राज्यको दायित्व लिनेलाई मात्र राम्रोसँग हेर्नुपर्ने र अहिले नै निजी क्षेत्रको दायरामा प्रवेश गर्न नहुने उनले बताए । 

त्यस्तै सांसद अमरेशकुमार सिंहले अख्तियारलाई पूर्व कर्मचारी भर्ती गर्ने ठाउँ बनाए राम्रोसँग काम गर्न नसक्ने जिकिर गरे । उनले निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नहुने बताए । नीतिगत रुपमा हुने भ्रष्टाचार पनि अख्तियारको दायरमा आउनुपर्ने उनले बताए । 

उनले भ्रष्टाचारमा मुछिएकाहरुलाई नै अख्तियारमा सरुवा गर्ने प्रवृति उचित नभएको पनि बताए । समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा संशोधनकर्ता लगायतका सांसदहरुसँग छलफल गरेको हो ।

 


Author

थप समाचार
x