संसद्

सार्वजनिक बिदाको संख्या घटाउन सांसदहरूको सुझाव

इकागज |
मंसिर २७, २०८१ बिहीबार १६:५४ बजे

काठमाडौँ - सांसदहरुले सार्वजनिक बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको संख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए । 


सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उनले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताए । सांसद सिंहले सार्वजनिक निकायमा मन्त्रीहरूको कार्यकक्ष बनाउने काम उचित नभएको उल्लेख गरे । 

त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिए । उनले विधेयकहरुलाई समयमा नै अघि बढाउन समिति गम्भीर हुनुपर्नेमा जोड दिए । 

बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए । उनले २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि प्रयाप्त छलफल हुने अवस्था नदेखिएको जिकिर गरे । उनले विधेयकमा राजनीतिक हस्तक्षेप हुने र समयमा नै पास हुन नसक्ने आशंका उत्पन्न भएको बताए । 

समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाई भएको जवाफ दिए । 

सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशिल रहेको उल्लेख गरे । अर्को बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अन्य संशोधनकर्तासंग छलफल गर्ने उनले जानकारी दिए । 


Author

थप समाचार
x