संसद्

‘कोरम’ नपुगेपछि पूर्वाधार समितिको बैठक स्थगित

इकागज |
माघ १६, २०८१ बुधबार १४:४४ बजे

फाइल फाेटाे

काठमाडौं - प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । पच्चीस सदस्यीय समितिमा निर्धारित समयभन्दा डेढ घण्टा बढी समयमा पनि बैठक सञ्चालनका लागि आवश्यक न्यूनतम सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो । बिहान ११:३० बजे बोलाइएको बैठकमा १०सदस्यको मात्र उपस्थिति रह्यो । 

संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आफ्ना सदस्यहरूको संसदीय समितिमा हुने उपस्थिति र खेल्ने भूमिकाका आधारमा मूल्यांकन हुने बताइरहेका बेला कोरम नपुगेर बैठक स्थगित हुन पुगेको छ ।
     
सरकारका प्रतिनिधिको अनुपस्थिति भएमा बैठक नचलाइने अभ्यासअनुसार बैठकमा आमन्त्रण गरिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ भने समितिमा उपस्थित थिए । 


उपयुक्त समयमा अर्को बैठक बस्ने समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।  समितिमा २५ सदस्य छन् ।  बैठक सञ्चालनका लागि न्यूनतम १३ जना उपस्थित हुनुपर्छ । आजको बैठकमा ऊर्जा मन्त्रालयसँग सम्बन्धित समितिमा परेका उजुरीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।


Author

थप समाचार
x