समाजसेवा चेतना पुरस्कारबाट उपसभामुख राना मगर सम्मानित
![](https://ekagajcdn.prixacdn.net/media/albums/indira_rana_CCqlFKcTOJ.jpg)
मोरङ - चेतना संरक्षण प्रतिष्ठान विराटनगरले साहित्य, संस्कृति, कला, पत्रकारितालगायत विधामा विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गरेको छ ।
प्रतिष्ठानको २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरलाई ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरिएको हो । उनलाई रु ५१ हजार राशिको उक्त पुरस्कार एवं सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष गङ्गा सुवेली, पुरस्कार संस्थापक दीनबन्धु गोयल र प्राडा बाबुराम तिमिसिना प्रदान गरे ।
यसैगरी, धर्मानन्द रामप्यारी सिटौला रु एक लाख ५१ राशिको साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चुडामणि बन्धुलाई प्रदान गरिएको छ । साथै बालकिसन/नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ) लाई प्रदान गरिएको छ ।
रु ५१ हजार राशिको नरेश सुवेदी पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौँ), डा नरेन्द्र/योगमाया/भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ/मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी, रु एक लाख एक हजार राशिको जगत्बन्धु/श्रीमती अञ्जु कार्की चेतना पुरस्कार सोमराज कट्टेललाई प्रदान गरिएको छ ।
सो अवसरमा उपसभामुख मगरले पुरस्कारको रकम झापाका युवाहरूलाई स्वरोजगारमूलक सीप विकाससम्बन्धी तालिम सञ्चालनका लागि प्रदान गर्ने बताइन् । उनले असहाय बालबालिकाको सेवा एवं संरक्षणले मुलुकमा परिवर्तन ल्याउनाका साथै समृद्धि कायम गर्न सकिने विचार राखिन् । प्रतिष्ठानका अध्यक्ष सुवेदी, प्राडा तिमिल्सिना, पुरस्कार संस्थापक गोयललगायतले यस प्रकारका पुरस्कार वितरणले समाजमा साहित्य तथा कला संस्कृति संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया