संसद्

८ संसदीय समितिको बैठक बस्दै

इकागज |
माघ ३०, २०८१ बुधबार ६:५२ बजे

काठमाडौँ- संघीय संसद अन्तर्गतका ८ वटा समितिको बैठक बस्दैछ । 

संसद सचिवालयका अनुसार ती सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । 


जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुनेछ, जुन बैठक बिहान ११:०० बजेबाट सुरू हुँदैछ ।

बिहान ११:३० बजेवाट सुरू हुने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा भने माउण्ट एभरेष्ट ब्रुअरी प्रालि‍मा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने जनाइएको छ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल गरिनेछ, सो बैठक बिहान ११:०० बजेबाट सुरू हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११:०० बजे बोलाइएको छ, जुन बैठकमा । समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल गरिनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै अजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफल जारी रहनेछ । जुन बैठक अपरान्ह १२:१५ बजेबाट सुरू हुने जनाइएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ, जुन बैठक दिउँसो १ः३० बजे बोलाइएको छ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिउँसो १:०० बजेबाट सुरु हुनेछ ।

र, बिहान ११:३० बजे बोलाइएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरुका बारेमा छलफल हुने सबन्धित समितिले जनाएको छ ।


Author

थप समाचार
x