‘नमूना युवा प्रदेश सभा’मा खोपको चर्चा
काठमाडौँ : ‘नमूना युवा प्रदेशसभा’ मा पनि कोभिड भाइरसविरुद्ध खोप लगाउनुपर्ने विषयमा प्रदेश सरकार केन्द्रित भएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको युवा प्रदेशसभा बैठकमा उपस्थित नमूना युवा सांसदले कोभिड-१९ रोकथाम गरेमात्र जनजीविकालाई सहज बनाउने सकिने भन्दै कोभिड भाइरसविरुद्धको खोप प्रदेश सरकारले आफ्ना प्रदेशका नागरिकलाई उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेशमा खोपबारे जरुरी सार्वजनिक प्रस्तावसमेत दर्ता गरेर युवा सांसदले छलफलसमेत गरेका थिए । नमूना प्रदेशसभामा लुम्बिनी प्रदेशका सभामुख श्रद्धा कुँवरले सभामा कोभिड भाइरसविरुद्धको खोप उपलब्ध गराउने विषयमा छलफल भएको बताए । उनले सङ्घ सरकारको समन्वयमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गरे ।
प्रदेश नं २ का मुख्यमन्त्रीको भूमिकामा रहनुभएका पूजा साहले युवालाई कोभिड भाइरसबाट बचाउन खोप लगाउनका लागि चाँडै नै खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेशका सबै युवालाई कोभिड–१९ विरुद्धको खोप लगाइने बताए । उनले प्रदेश सरकारले युवामैत्री बजेटसमेत ल्याउने जानकारी दिए ।
यस्तै बागमती प्रदेशका मुख्यमन्त्रीको भूमिकामा रहनुभएका अश्मी सापकोटाले कोभिड भाइरस, महिला हिंसा, विपद् व्यवस्थापनबारे प्रदेशसभामा छलफल भएको बताए । उनले कोभिड भाइरस महामारी रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न पनि आग्रह गर्दै प्रदेशमा रहेका सबै नागरिकलाई यही महिनाभित्र खोप उपलब्ध गराउने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया