संसद्

प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

इकागज |
फागुन १३, २०८१ मंगलबार १४:४७ बजे

फाइल फोटो

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उनले उठाएका हुन् । उनले यस्तै ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले संसद्‍मार्फत सरकारसँग माग गरे ।


यस्तै सांसद देवेन्द्र पौडेलले विभिन्न सडक दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग गरे । दुर्घटनामा कमी ल्याउन सडक सुरक्षा प्रभावकारी बनाउने र ट्राफिक नियमको पालनामा कडाइ गर्नुपर्ने उनको सुझाव छ । राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न राज्यसँग ‘नाइटभिजन’ हेलिकोप्टर नहुनु दुःखद भएको सांसद पौडेलको भनाइ छ ।

सांसद ज्ञानबहादुर शाहीले सरकारले अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेको र कतिपय पालिकाका कर्मचारीले तलब पाउन नसकेको विषय संसद्‍मा उठाए । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्थानीय तहका लागि विनियोजन भएको वित्तीय समानीकरण अनुदान अर्धवार्षिक समीक्षापछि कटौती गरिएकामा उनले आपत्ति जनाए ।


Author

थप समाचार
x