संसद्

उदयपुर सिमेन्ट उद्योगका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ : सांसद झा

इकागज |
फागुन २१, २०८१ बुधबार १५:३७ बजे

फाइल फाेटाे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले अवकाशको तीन वर्षसम्म कर्मचारीहरूले सुविधावापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानार्कषण गराएका हुन् । 


“सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरुले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरूले पैसा पाउँछन् ”, उनले प्रश्न गरे ।   
   
सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरु प्रभाव भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए । 

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानार्कषण गराए । 
   
उनले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको प्रसङग उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास दिन आग्रह गरे । 
   
सांसद गैरेले शिक्षक महासङ्घले विगतमा सरकारसँग गरेको सम्झौता कार्यान्वयनको समेत माग गरे । 


Author

थप समाचार
x