सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी जग्गाको समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक

काठमाडौं - प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी जग्गा लगायतका सम्बन्धमा देखिएको समस्यामा समाधानका लागि नीतिगत सुधारका योजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गा लगायतका सम्बन्धमा नीतिगत सुधारका योजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले गुठी किसानका समस्या समाधान गरी पीडित किसानका माग सम्बोधन गर्ने सम्बन्धमा सरोकारवालासँग थप छलफल गरी कार्यसम्पादन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गुठी ऐन संशोधन गरेर भएपनि स्वर्गद्वारी गुठी पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । उनले समस्या समाधानका लागि सरकारले गरेका पहललाई ध्यान दिन आग्रह गरे । मन्त्री अधिकारीले ऐन बनाएर नै बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गालगायत भूमिसँगसम्बन्धी समग्र समस्या समाधान गर्ने जिकिर गरे ।
बैठकमा स्वर्गद्वारी गुठी पीडित किसानहरूले आफ्नो मागका बारेमा समितिलाई जानकारी गराएका थिए । समिति सदस्यहरूले भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको उपाय खोज्न सुझाव दिएका थिए । समिति बैठकले भेरी शीत भण्डारलाई दिइएको अनुदान कायम हुने सम्बन्धमा आवश्यक निर्णय गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया