राष्ट्रिय सभा बैठक
जनतालाई महुसस हुनेगरी सुशासन कायम हुनुपर्नेमा सांसदहरूको जोड
काठमाडौँ - राष्ट्रियसभाका सदस्यहरूले मुलुकमा जनतालाई महसुस हुनेगरी सुशासन कायम हुनुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकमा उनीहरूले वर्तमान सरकारसँग जनताको आशा र भरोसा भएको भन्दै सुशासन कायम हुनुपर्नेमा जोड दिएका हुन् । बैठकमा सांसद उदया शर्मा पौडेलले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउन र सुशासनको प्रत्याभूति गराउन विधेयक अगाडि बढाउन आग्रह गरिन् । त्यस्तै उनले स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको पारदर्शीता नहुनु भएको बताए ।
सांसद प्रकाश पन्थले संविधानमा व्यवस्था भएको समावेशी समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने माग गरे । उनले अब गठन हुने मन्त्रिपरिषद्लाई समावेशी बनाउन पनि अनुरोध गरे । सांसद देवेन्द्र दाहालले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्न नहुनेमा जोड दिए । उनले सरकार बाढीपहिरो र विपत्तिमा परेका जनताका सवाल केन्द्रित हुन नसकेको दोष लगाए । सांसद रामनारायण विडारीले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताले गरेको टिप्पणीले संवैधानिक नैतिकतामाथि विवाद सिर्जना भएको टिप्पणी गरे ।
सांसद दिलकुमारी रावलले नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले निर्वाचन कानूनलाई समयअनुसार परिमार्जन गर्नुपर्ने मागसमेत गरे । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ बजे बस्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया