संसद्

स्पेनिस संसदीय प्रतिनिधिमण्डल भक्तपुर भ्रमणमा

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार ७:२ बजे

भक्तपुर- नेपाल भ्रमणमा रहेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वको २४ सदस्यीय टोलीले भक्तपुर नगर क्षेत्रको स्थलगत अवलोकन गरेकाे छ । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरु बिहीबार साँझ विश्वसम्पदा सूचिकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका हुन् । 

उनीहरुले भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रदेश सभासद् सुरेन्द्ररान गोसाईले दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका थिए । नगरपालिकाको टोलीले उनीहरुलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी स्वागत गरेका हुन् ।


भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गरेका छन् । नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सो क्षेत्रको अवलोकन गराएका थिए ।
    
भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरे । प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो उपहार प्रदान गरेका थिए ।


Author

थप समाचार
x