संसद्

संसदमा नाराबाजी र घेराऊको पुरानै दृश्य मञ्चन हुने

एमालेले संसदीय रणनीतिबारे भोलि दलबाट निर्णय लिने

इकागज |
मंसिर २७, २०७८ सोमबार १४:२० बजे

फाइल फोटो

काठमाडौं - प्रमुख विपक्षी एमालेको अवरोधै–अवरोधका कारण अघिल्लो अधिवेशन ५१ दिन गुज्रेको थियो । भोलिदेखि शुरु हुने दशौं अधिवेशनमा पनि लगभग पुरानै दृश्य मञ्चन गर्ने तयारीमा एमाले छ ।

‘संसद्मा कसरी प्रस्तुत हुने र अघि बढ्ने भन्नेमा संसदीय दलबाटै निर्णय हुन्छ’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले इकागजसँग भने । संसद्मा अपनाइने रणनीतिका विषयमा छलफल गर्न प्रमुख विपक्षी एमाले संसदीय दलको बैठक ११ बजे बोलाइएको छ ।


‘हाम्रा मागमा कुनै सम्बोधन भएको छैन’ भट्टराईले भने, ‘हाम्रो माग सम्बोधन नभएसम्म संसद् घेराऊको कार्यक्रम जारी रहन्छ नै । यतिखेरसम्म स्थिति हेर्दा पूर्ववत् स्थितिमा कुनै फेरबदल नआएको हुँदा अवरोधकै बाटोमा जाने स्थिति छ । यद्यपि निर्णय चाहिँ दलबाटै हुन्छ ।’

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले पदीय आचरणअनुरुप काम नगरेको जिकीरसहित सभामुखकै राजीनामा माग गर्दै संसद् घेराऊ गरेको थियो । अघिल्लो नवौँ अधिवेशन ५१ दिन चलेको थियो । रोष्ट्रम घेराऊ नाराबाजीबीच १३ वटा बैठक बस्यो । जम्माजम्मी ५ घन्टा ४० मिनेट मात्र संसदीय काममा समय व्यतित भएको थियो ।

यसपालि पनि प्रमुख विपक्षीसँग कुनै छलफल नगरीकन संसद् अधिवेशन बोलाइएको छ । ‘हामीसँग किन संसद् बोलाइयो भन्ने विषयमा कुनै छलफल भएको छैन’ भट्टराईले भने, ‘हामीलाई एकरत्ति सूचना प्राप्त छैन । सभामुख पनि हामीसँग छलफल गर्न नै चाहनुहुन्न । सभामुखले कुनै संवाद नै गर्नु भएको छैन । सभामुख साझा व्यक्ति बन्न नै सक्नुभएको छैन ।’
 


Author

थप समाचार
x