संसद्

राष्ट्रिय सभामा सांसदका प्रश्नहरू

'किन सडकमा रूवाबासी ?'देखि 'बैशाखमै चुनाव हुन्छ र?'सम्म

इकागज |
पुस २४, २०७७ शुक्रबार १५:८ बजे

काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको तेस्रो बैठक सकिएको छ । शुक्रबार दिउँसो १ बजेबाट सुरू भएको बैठकलाई १० जना सांसदले सम्बोधन गरे ।

सभामा विशेष समय लिएर बोलेका ती सांसदले अनेक प्रश्न उठाएका छन् । आजको सभामा कोभिड-१९ महामारीदेखि प्रतिनिधि सभा विघटनसम्मका विषय उठेका हुन् । विशेष समयमा बोल्ले सांसदमध्ये सबैभन्दा पहिले नारायणकाजी श्रेष्ठले सभालाई सम्बोधन गरे ।


श्रेष्ठले आफ्नो अधिकांश समय प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचला गर्दै बिताए । उनले प्रतिनिधि सभा विघटनको विषयमा केन्द्रित रहेर प्रधानमन्त्री ‌ओलीमाथि अनेक प्रश्न तेर्स्याए । जसमध्ये एउटा प्रश्न थियो, 'कुनै मान्छेको मृत्युपछि वा शेखपछि सम्पत्ति प्राप्त गर्ने बुँदा फेला पर्‍यो भने उक्त मान्छेलाई मारेर सम्पत्ति दिने भन्ने अर्थ लाग्छ र ?'

मा.दिल कुमारी रावल थापाले पछिल्लो समय सडकमा भइरहेको सरकार विरोधी प्रदर्शनमाथि प्रश्न गरिन् । 'जहाँसम्म प्रतिनिधि सभा विघटनको कुरा छ यो सर्वोच्च अदालतमा संवैधानिक इजलासको विषय बनेको छ, अदालतको फैसला कुर्नु पर्ला नि, मान्नुपर्ला नि, अनि किन सडकमा रूवाबासी ?' उनको एउटा प्रश्न थियो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद् तारादेवी भट्टले बैठकमा व्यवस्था नै धरापमा पर्ने त होइन भन्ने प्रश्न उठाएकी छन् ।  'हामी कतातिर गइरहेका छौं, हाम्रा क्रियाकलापले व्यवस्था नै धरापमा त पर्ने होइन ? डराउनुपर्ने अवस्था आएको छ', उनले भनिन् ।

नेकपा सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएको भट्टले प्रष्ट पारिन् । 'जनताले नेकपाको सरकारलाई पाँचा वर्षको लागि फ्रेस म्यान्डेट दिएकै हो, यहाँ प्रश्न के खडा भएको छ भने आफ्ना सहयात्री र पार्टीभित्र समस्वय गर्न नसक्नेले विदेशमा कसरी कुटनीति कायम गरेका होलान् ?', उनले प्रश्न गरिन् ।

अर्का सांसद जगप्रसाद शर्मा अहिले साँच्चै निर्वाचनकै तयारी भइरहेको हो भन्ने प्रश्न गरे । 'साँच्चै भन्ने हो भने आउने वैशाखमा निर्वाचन गर्नको लागि यो तयारी गरिएको हो ? कि अरु नै गल्ति ढाकछोप गर्नको लागि चुनाव घोषणा गरिएको हो ?', सम्बोधनकै क्रममा उनले प्रश्न गरे,'राजनीतिक हिसावले वा संवैधानिक हिसाबले हेर्दा वैशाखमा निर्वाचन सम्भव छ ?'

सांसद् देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूलाई प्रश्न गरे । नेकपा विभाजनपछि कांग्रेस लगायतका दलहरु रमिते बनेको भन्दै उनले प्रश्न गरे,‘प्रतिनिधि सभा विगटन भएर नयाँ निर्वाचनको घोषणा प्रतिपक्षलाई अझै राम्रो हुनु पर्ने होइन र? अझै अनुकूल अवस्था होइन र ?’

अर्का सांसद् शेखरकुमार सिंहले जनकपुर रेल्वेको विषयमा प्रश्न गरे । 'जनकपुर रेल्वे किन संचालन हुन पाएको छैन, यो हामी बुझ्न पाएका छैनौं । यो सभामार्फत जनकपुर रेल्वे संचालन गर्न आग्रह गर्न चहान्छ', उनले भने ।

त्यस्तै सिंहले त्रिभुवन विमानस्थनमा ग्राउन्डेड भएका जहाजका विषयमासमेत प्रश्न गरे । 'एउटा सानो निर्णयका खातिर युरोपको आकाश हामीलाई कालो सूचीमा पारेका छन्, कालो सूची कहाँबाट आयो ? यो के हो ?  कुनै व्यक्तिको स्वार्थले राष्ट्र डुवाउन पाइन्छ ?', उनको प्रश्न थियो ।  

अन्त्यतिर बोल्दै सांसद् कोमल वलीले देश बन्धक बन्नुमा कसको दोष रहेको भन्ने प्रश्न गरिन् । 'कसको कुर्सि कतातिर भन्ने विवादले देशलाई बन्धक बनाएको छ कि छैन ?', उनले भनिन्,'सबैभन्दा आश्चर्य लाग्दो कुरा हाम्रा इन्स्टिट्युशनमाथि यति धेरै शंका किन ?  सरकारमाथि शंका, संसद्माथि शंका, अदालतमाथि शंका, निर्वाचन आयोगमा शंका ? किन ?'


Author

थप समाचार
x