संसद्

राष्ट्रिय सभा सुरू, हेर्नुहोस् प्रधानमन्त्री ‌ओलीको सम्बोधन (लाइभ)

इकागज |
पुस २६, २०७७ आइतबार १३:१६ बजे

काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको चौँथो बैठक सुरू भएको छ । आइतबार दिउँसो १ बजेबाट सुरू भएको बैठकमा  कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्‍नो धारणा राख्‍दै छन् ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‌ओलीले  आफ्नो सरकारलाई जनताले पाँच वर्ष टिकोस् भन्ने चहाना राखेको बताएका छन् । उनले भने,'जनताको इच्छा थियो पाँच वर्ष सरकार टिकोस्, अस्थिरता जनताको चाहाना होइन ।'


आफू नेतृत्वको सरकारले धेरै काम गरेकोसमेत ओलीले दाबी गरे । उनले भने, 'काम गरेनन् भन्ने होइन, धरहरा भर्खरै सम्पन्न हुन लागेको छ, यो सरकार बन्नुभन्दा पहिले तराईका कुनैपनि सहरमा ढलको व्यवस्था थिएन, अहिले ठुला सहरमा ढलको व्यवस्था भएको छ ।'  

आफ्नो कार्यकालभन्दा अगाडि नेपालमा दुर्तगतिमा काम नभएको पनि ओलीले प्रष्ट पारे । 'शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा कति प्रगति भएको छ भन्ने कुरा सबै साथीहरूलाई थाहा छ । ड्रपआउट हुने विद्यार्थीहरू घटेका छन्', उनले भने,'दुर्तगतिमा काम भएको छ, यसरी काम नेपालमा यसभन्दा अघि कहिल्यै भएको थिएन । तथ्यहरूले बताउँछ, आँकडाहरूले बताउँछ ।'  

आफूले भारतसँग समानताका आधारमा मित्रता राख्न चाहेको पनि ओलीले बताए । उनले भने, 'कतिपय मानिसले सोध्ने गर्छन् तपाई प्रधानमन्त्री भएपछि भारतसँग व्यापक छलफल किन हुन्छ, बेसरी बहस किन हुन्छ । म प्रधानमन्त्री भएपछि किन हुन्छ भने म भारतसँग साँचो मित्रता गर्न चहान्छु । मित्रता बढाउन चहान्छु । मित्रतालाई सही अर्थमा गहिराइमा पुर्‍याउन चहान्छु । व्यापक बनाउन चहान्छु, उचाईमा पुर्‍याउन चहान्छु । त्यो असमानताका आधारमा हुँदैन । समानताका आधारमा मनदेखि नै मित्रता हुने हो ।'   

आफूले पाँच वर्ष सरकार चलाउन खोजेकोसमेत उनले बताए । ‘पाँचै वर्ष राम्रैसँग चलाउने खोजेको थिए । अनेक लगानी सञ्चार माध्यम प्रयोग गरेको छ । त्यस्ता खालका बुद्धिजीवी झुन्ड प्रयोग गरेको छ । देशमा अस्थिरता फैलाउने काम भएको छ’, उनले भने,‘विशाल सभाको फोटो छाप्दैन, सरकारविरोधी जमात केही देखियो भने हाइलाइट गरेर छाप्छ । यो अस्थिरता सिर्जना प्रयास भएको छ । प्रतिनिधिसभा विघटनबाट त्यो अस्थिरता रोकिएको छ ।’

 


Author

थप समाचार
x