संसद्

राष्ट्रिय सभा हिउँदे अधिवेशन

राष्ट्रिय सभामा प्रधानमन्त्रीको गोलमटोल जवाफ

प्रश्‍न- प्रतिनिधि सभाको घाँटी रेट्‍नेले कसरी वैशाखमा निर्वाचन गर्छ ?  उत्तर- तर्कभन्दा पनि चुनावको तयारी गर्नुस्

इकागज |
पुस २६, २०७७ आइतबार १५:५२ बजे

काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको अन्तित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । आइतबार दिउँसो १ बजेबाट सुरू भएको बैठकलाई सम्बोधन गरे । त्यसपछि उनी प्रश्‍नोत्तरमा सहभागी भए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका ५ जना सांसदले प्रश्न गरे । उनीहरूका प्रश्न प्रतिनिधि सभा विघटन र त्यसपछिका राजनीतिक कदमप्रति लक्षित थिए । सबैभन्दा पहिला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले प्रश्न गरे । तर, उनलाई पुरै प्रश्‍न गर्न नै नदिइ माइकको लाइन काटियो । 


प्रधानमन्त्री ओलीले गरेको संविधानको व्याख्याप्रति देवले असहमति जनाए । देवको असहमतिको जवाफमा प्रधानमन्त्री ‌ओलीले कुनै दलको प्रतिनिधिले असहमति राख्नु स्वभाविक भएको प्रष्ट पारे । 'मैले बोलेको कुरामा दल विशेष प्रतिनिधिको रूपमा केही साथीहरूले असहमति जनाउनु भएको छ, त्यसलाई स्वभाविक दलीय प्रणालीको रूपमा लिन्छु', उनले भने, 'तपाईंहरूले आफ्नो दलको विचार यहाँ दर्ज गराउनुभयो ।'
 
देवपछि जनता समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले प्रधानमन्त्रीलाई प्रश्न गरिन् । २००७ साल र २०१७ सालकै रोडम्यापमा प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटन गरेको प्रष्ट पारिन् । र, यो विषयमा ओलीसँग प्रतिक्रिया मागिन् ।

यसको जवाफमा प्रधानमन्त्री ओलीले २००७ सालको अन्तरिम संविधानलाई राजाले बताएको र २०१५ सालको संविधान कांग्रेसको कमजोरीका कारण असफल भएको दाबी गरे । 'त्यो संविधानमा महाराजाधिराजले जे पनि गर्न पाउने  स्वेच्छाचारी धारालाई संशोधन गर्न पाउने अधिकार थिएन', उनले भने,' नेपाली कांग्रेसले त्यसैलाई मानिदियो, पछि त्यही धारालाई टेकेर महाराजधिराजले 'कू' गरे ।'
 
त्यस्तै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले अरू विकल्प हुँदाहुँदै पनि किन प्रतिनिधि सभा विघटन गरेको भन्‍ने प्रश्‍न प्रधानमन्त्री ओलीलाई गरे । यसको जवाफमा उनले आफू सर्वसम्वत बहुमत दलको नेता भएको प्रष्टोक्ति दिए ।

अर्का सांसद प्रकाश पन्थले गेस पेपर होइन संविधान पढेर जवाफ दिनुर्ने बताए । उनले नहर भत्काउने अनि रोपाई गर भन्‍ने जस्तो कुरा गरेर प्रधानमन्त्रीले के भन्‍न खोज्‍नु भएको हो स्पष्ट छैन भनेर प्रश्‍न गरेका थिए । त्यस्तै सांसद अनिता देवकोटा प्रधानमन्त्री ओलीको नियतमाथि आशंका गर्दै प्रश्‍न गरिन् ।

'प्रतिनिधि सभाको घाँटी रेट्न सक्ने प्रधानमन्त्रीले कसरी वैशाखमा निर्वाचन गर्छ ?' , उनले प्रश्न गर्दै भनिन्, 'महाराज लेख्‍नु भनेर राष्ट्रपति कहाँ पठाउनु होला र राष्ट्रपतिले स्विकृत गर्नुहोला के हामीले महाराज मान्‍ने ?'

प्रधानमन्त्री ओली सबै प्रश्नको जवाफ दिँदै सरकारविरुद्ध कस्ता प्रचार हुँदैछन् भन्ने कुरा आलोचनाबाट थाहा हुने बताए । 'महाराज जोडेर प्रश्न गर्नुभयो, कठै बरा कुन दुनियामा हुनुहुन्छ, महाराजधिराज जस्तो राष्ट्रपति चाहिएको हो ? संविधानभन्दा बाहिर गएर चल्ने राष्ट्रपति चाहिएको हो ?', उनले भने, 'केही पुरातन सोच भएका व्यक्तिहरूले राष्ट्रपतिको विरोध गर्छन्, राष्ट्रपतिमाथि हिलो छ्याप्छन् ।' 

त्यस्तै ओलीले राष्ट्रिय सभा सदस्यलाई चुनावको तयारी गर्न आग्रहसमेत गरे । 'तपाईहरूलाईं आनन्द छ, चुनाव लड्नु पर्छैन, तपाईंहरू तर्क गर्नु भन्दा पनि चुनावको तयारी गर्नुस्, मेरो आग्रह छु', उनले भने ।


Author

थप समाचार
x