प्रतिनिधिसभा बैठकमा अवरोध हुँदा सरकारलाई संसदप्रति उदरदायी बनाउन सकिएन- सभामुख
फाइल फाेटाे
काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा भएको अवरोधका कारण सभाको गतिशीलतामा असर परेको भन्दै सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् ।
प्रतिनिधिसभा अवरोध भएका कारण सरकारलाई संसदप्रति उत्तरदायी बनाउने तथा कानुन निर्माणको काममा समेत अवरोध भएको उनले उल्लेख गरेका हुन् ।
उनले भने, ‘सभाको बैठक विगत वर्षदेखि कोभिड १९ लगायतका कारणहरुबाट प्रभावित भइरहेको छ । यस महामारीका कारण सभाले सामान्यतया बैठकमा व्यतित गर्नुपर्ने समयमा अपेक्षाकृत न्युनता आएको छ । बैठक सञ्चालनका लागि उपलब्ध समयमा पनि भएका अवरोधबाट सभाको गतिशीलतामा असर परेको छ । आम नागरिकका दैनिक समस्याहरु जनप्रतिनिधिले सदन मार्फत् सरकारलाई सुनाउने, समाधानका प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरु समेत अवरोधका कारण प्रभावित हुन पुगेकाले आफ्नो भुमिका प्रति संवेदनशील हुन अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई अनुरोध गर्दछु ।’
उनले प्रतिनिधिसभामा राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयकहरु सभामा विचाराधीन रहेकाले सो विधेयकहरुलाई पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नुपर्ने बताए ।
उनले भने – ‘राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयकहरु सभामा विचाराधीन रहेका छन् । यी विधेयकहरुलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हाम्रो दायित्व पनि हो । संसदको अवरोधका कारण विधि निर्माण प्रक्रियापनि प्रभावित भएको छ । साथै यस्तो क्रियाकलापले सभामा प्रभावकारिता वृद्धि पनि गर्दैन । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई विशेष अनुरोध गर्दछु ।’
बैठकमा एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, गैर सांसदलाई प्रवेश निषेध गर, सवैधानिक सर्वोच्चता कायम गर, हाम्रो बिरोध जारी छ, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका नाराबाजी गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया