संसद्

प्रतिनिधि सभा बैठक : सबैको नजर सत्तातिर

इकागज |
चैत ६, २०७७ शुक्रबार १९:१९ बजे

काठमाडौँ : प्रतिनिधि सभा पुन:स्थापनापछि चौँथो बैठक शुक्रबार बस्यो । बैठकमा सबै दलका प्रतिनिधिले आ–आफ्नो भनाइ राखे । जसमध्ये अधिकांश नेताले अहिलेको सरकार र भविश्य गठन हुने सरकारलाई केन्द्र बनाएर धारण व्यक्ति गरे । यस अर्थमा पछिल्लो समय सबैको नजर सत्तातिर नै केन्द्रीत भएको देखिन्छ ।     
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले पनि सरकारकै वरिपरी रहेर धारणा राखेका छन् । सांसद मिनेन्द्र रिजालले केपी शर्मा ओलीको विकल्पका लागि कांग्रेसभित्र एकमत रहेको प्रष्ट पारे । 

सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भूमिका महत्वपूर्ण हुने भएकाले जसपा सरकार बनाउन तयार भए कांग्रेस पनि तयार रहेको प्रतिक्रिया रिजालले दिए । 


‘जसपाको निर्णय महत्वपूर्ण छ, उहाँहरू जुन बेला काँंग्रेस नेतृत्वको सरकार बनाउन तयार हुनुहुन्छ हामी तयार छौँ,’ उनले भने,‘अबको परिस्थितिलाई व्यवस्थापन गरेर मुलुकलाई अगाडी लिएर जाने काम नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ  ।’

सरकारको तर्फबाट संसद्मा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब संसद्बाटै समाधन खोज्न आफूरू तयार भएको बताए  । ‘अब हामी यही संसदबाट समाधान खोज्न हामीलाई बाध्यात्मक अवस्था सिर्जना भएको छ, सुरूका केही बैठक जसरी अगाडि बढे त्यसले राम्रो संकेत गरेनन्’, ज्ञवालीले भने । 

अर्कोतर्फ जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरू रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई सरकार बनाउँदा समर्थन गर्ने बताए । ‘जसले हाम्रो मागलाई सम्बोधन गर्छ  । जसले हाम्रो बन्दी रिहाइ गर्छ  । मुद्दा फिर्ता गर्छ  । संविधान संशोधन गर्छ हामी त्यसलाई समर्थन गर्छौँ त्यो बाहेक हाम्रो कुनै एजेण्डा छैन’, उनले भने ।

माओवादी केन्द्रका सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गरे । जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि उनले प्रष्ट पारे । 

‘हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदा त्यसको विरोध कसले गर्‍यो, त्यसको विपक्षमा को उभियो, यो कुरो यति चाडै बिर्सिने जसपाका नेताहरुले ? जसपाका नेताहरुले त्यो बिर्सेको बाहाना गर्नुहुन्छ भने दीर्घकालिन राजनीतिमा त्यसको हिसाबकिताब स्वभाविक रुपमा राम्रो हुँदैन’, कार्कीले भने,‘हामीलाई के विश्वास छ भने जसपा यदी परिवर्तनको पक्षमा छ भने जसपाले प्रतिगमनतिर देशलाई लैजान खोज्ने प्रधानमन्त्रीलाई समर्थन गरेर आफ्नो बाँकी राजनीतिको हत्या आफैँ गर्ने छैन  ।’

अर्कोतर्फ सत्तारुढ नेकपा एमाले संसदीय दलका उप–नेता शुवासचन्द्र नेम्वाङले सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडी बढ्ने बताए । प्रतिनिधि सभाको बैठकबाट बाहिरिदै गर्दा उनले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ रहेको बताए । 

‘अहिले सरकार जुन आधारमा उभिएको छ  । त्यो आधार अहिले विभाजित भएको छ तर विभाजन पश्चातको जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन  । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ’, उनले भने,‘जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधान बमोजिम अगाडी बढ्छ  । अहिलेको सरकार प्रधानमन्त्री केपी ओली संविधान बमोजिम स्थापित मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ हुनुहुन्छ  ।’

अर्कोतर्फ माओवादी केन्द्रकी सांसद पम्फा भुसालले वर्तमान राजनीतिक प्रणाली अनुसार निर्वाचनमा कसैको पनि दुईतिहाइ आउने सम्भावना नरहेको भएपनि प्रधानमन्त्री ओलीले दुईतिहाई ल्याउने धाक दिएर आफ्नो लाज छोपेको बताइन् । प्रतिनिधि सभाको हालको बनावट अनुसार राजनीतिक दललाई बहुमत ल्याउन पनि गाह्रोपर्ने उनको भनाइ छ  । 

‘हाम्रो देशले हाम्रो संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीले तपाईले सोच्नुभएको छ, तपाइले जनतालाई भ्रम दिनुभाछ कि ढाट्नु भाछ कि आफै भ्रममा हुनुहुन्छ र मुर्खता गर्नुभाछ ? हाम्रो जस्तो निर्वाचन प्रणाली जहाँ ६० प्रतिशत प्रत्यक्ष छ  । ४० प्रतिशत समानुपातिक छ’, भुसालले भनिन्,‘जहाँ समाजका सबै जाति, वर्ग, लिङ्ग, समुदाय आउनुभाछ  । संविधानले व्यवस्था गरे अनुरुप हाउसको जुन बनावट छ  । यस्तो निर्वाचन प्रणालीमा बहुमत पनि यदाकदा आउँदैन  । दुईतिहाइको धाक दिएर आफ्नो लाज छोप्ने दुस्साहस नगर्नुस्, मेरो अपिल छ  ।’


Author

थप समाचार
x