दल

नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नुपर्छः डा शेखर

इकागज |
जेठ ९, २०७९ सोमबार १६:९ बजे

फाइल फोटो

विराटनगर - विराटनगर–८ स्थित  विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर–६ रामपुरमा १५ श्ययाको ‘शङ्कर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएकोे छ ।

एक बिघा जग्गामा २५ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि  सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध गराइने  भएको छ । अस्पताल निर्माणका लागि स्व अधिकारीका श्रीमती, छोराहरु सरोज तथा सञ्जिव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । 


उक्त अस्पताल आज शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नुपर्ने बताए । 

पालिकाका प्रतिनिधिले सुशासन, पारदर्शी र जवाफदेही, भ्रष्टाचारमुक्त र जनउत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यको प्रमुख तथा अध्यक्षले अनुगमन गरी ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकलाई आवश्यकपर्ने स्वास्थ्योपचारलगायत अन्य कार्यका लागि समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

आश्रम प्रमुख जगत अर्याल, नेका महानगर अध्यक्ष दीपक चापागाईं, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, डा नाराण कोइराला र रुक्मणि कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका ज्येष्ठ नागरिकले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गरे । 

उक्त अस्पताल निर्माणका लागि आश्रम प्रमुख अर्यालले  सर्वसाधारणसँग दैनिक पाँच सङ्कलन गर्नाका साथै सङ्घीय, प्रदेश, स्थानीय पालिका तथा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हुने लक्ष्य लिइएको छ ।  रासस


Author

थप समाचार
x