दल

असन्तुष्टिहरू बेला बखत बालेन वा साम्पाङका रूपमा प्रकट हुन्छन् तर उनीहरूले देश बनाउन सक्दैनन् : शंकर पोखरेल

'जति धेरै दल त्यति धेरै अस्थिरता'

इकागज |
जेठ १९, २०७९ बिहीबार १७:२१ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका हुन् । 

दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताए । जति धेरै दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने उनको भनाइ छ ।‘दुनियाँमा कतै पनि गठबन्धन र दलहरू मिलेर देश बनाएको हामी सुन्दैनौँ । देश बनाउन राष्ट्रिय शक्ति चाहिन्छ,' उनले भने, 'गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । जति धेरै राजनीतिक दलहरू त्यति धेरै अस्थिरता, नीतिगत विचलन र वैदेशिक हस्तक्षेप हुन्छ। यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो ।' 


महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए । 'असन्तुष्टिहरू बालेन वा साम्पाङका रूपमा बेला बखत प्रकट हुन्छन् । तर त्यो राज्य सञ्चालकको प्रवृत्ति होइन,' उनले भने, 'राजनीतिमा नो भोटको प्रवृत्तिका रूपमा त्यस्ता पात्र, प्रवृत्तिहरू देखा पर्छन् । दलहरूले मुलुकलाई सही प्रकारको विकल्प दिन नसक्दा मतदाताले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरू विजेता बनेका छन् । उनीहरू साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । एक्लै समाज बदल्छु भन्ने कुरा यो न हिजो सम्भव भएको थियो न भोलि सम्भव हुन्छ ।'


Author

थप समाचार
x