प्रचण्ड-माधवलाई प्रधानमन्त्री बन्न अफर (भिडियोसहित)
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई पनि प्रधानमन्त्रीको अफर आएको बताएका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा आफूलाई पनि प्रधानमन्त्री बन्न अफर आएको बताए ।
'प्रचण्डजीले एउटा कार्यक्रममा भन्नुभयो, 'मलाई प्रधानमन्त्रीको अफर आयो' । मैले जवाफ दिँदै सांकेतिक रूपमा भन्या थिएँ, 'तपाईलाई मात्रै होइन अन्त पनि आएको होला है,' उनले भने, 'अब सांकेतिक भनेपछि बुझिहाल्नुभयो, मतिर पनि आएको होला नि ? त्यसैले बेइमानी नगर्नुस् । धोका दिने काम नगर्नुस् । जे सहमति भएको छ त्यो पालना गर्नुस् ।'
तर, यस्ता लोभलालचको भुलभुलैयामा नपर्ने उनले बताए । 'यस्ता लोभलालचको भुलभुलैयामा पर्ने मान्छे म होइन । यो कार्ड प्रयग गर्ने तरिका चाहिँ मान्छेलाई मुर्ख बनाउने पुरानो तरिका हो । मान्छेलाइ लोप-लालच देखाएर हुँदैन,' उनले भने, 'धोका दिनेहरूले यसपटक पनि जाल फालेका छन् ।'
उनले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्म जाने बताए ।
केही दिनअघि प्रचण्डले पनि आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताएका थिए । 'यो गठबन्धन संघ र प्रदेशको चुनावसम्म जानुपर्छ भन्ने ठान्छु, 'गत आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले भनेका थिए, ' केही साथीहरूले प्रधानमन्त्री बन्न अफर गर्नुभएको छ । मेरो जवाफ त्यही छ । म प्रधानमन्त्रीको रेसमा छैन । यहाँहरूलाई मैले धन्यवाद भनेको छु।'
प्रचण्ड र माधव दुवै जनाले आफूहरूलाई प्रधानमन्त्री प्रस्ताव आएको दाबी गरिरहँदा त्यस्तो प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आएको होला भन्ने सहज अनुमान भइरहेका छन् । एमालेले स्थानीय तह चुनाव अघि नै सत्ता गठबन्धनमा विभाजन ल्याउन निकै कसरत गरेको थियो तर त्यसमा उसलाई सफलता हात परेन ।
स्थानीय तह निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धामा उत्रिँदा कम्तिमा पनि १ सय सिट गुमाउनु परेको एमालेको नेताहरू बताउँछन् । कात्तिक वा मंसिरमा प्रतिनिधि सभा निर्वाचन गर्नेबारे गठबन्धन दलहरूबीच छलफल भइरहँदा एमाले उक्त निर्वाचनमा एक्ला एक्लै प्रतिस्पर्धामा जान चाँहिरहेको छ ।
एक्ला एक्लै प्रतिस्पर्धामा जाँदा कांग्रेसँग आफ्नो मुख्य प्रतिस्पर्धा हुने र त्यहाँबाट सिंहदरबारको यात्रा गर्न सहज हुने उसको बुझाइ छ ।
एमाले अध्यक्ष ओलीले बारम्बार आफूहरू झस्केलोबाट नभइ मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्ने दाबी गरिरहेका छन् तर उनको यस्तो दाबीमा गठबन्धन बाधक हुने उनले बुझेका छन् । त्यसैले एमालेले गठबन्धनमा विभाजन ल्याउन हरसम्भव प्रयास गर्ने कांग्रेससहित गठबन्धनका नेताहरूले बुझेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया