मकवानपुरबाट संघीय सरकारको मन्त्री बनेका खतिवडाले पद छाड्नुपर्यो
मकवानपुर - जनआन्दोलन २०६२/०६३ पछि मकवानपुरबाट संघीय सरकारमा पहिलो पटक मन्त्रीको प्रतिनिधित्व गरेका बिरोध खतिवडाले पद छाड्नु परेको छ ।
नेकपा एमालेमा रहदा मन्त्रीको दाबी नपुगेको भन्दै `ब्याक` गराइँदै आएका खतिवडा नेकपा फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । गत २२ असोजमा मन्त्री बनेका खतिवडा ठ्याक्कै ८ महिनापछि पदबाट हट्नु परेको छ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा खतिवडा छैटौं नम्बरको वरियतामा थिए ।
उनकै नेतृत्वमा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएको हो। खतिवडाले एमालेमा रहँदा मन्त्री बन्ने अवसर पाएका थिएनन्। २०४८ सालमा पहिलोपटक निर्वाचित बनेका उनी त्यसयता चार पटकसम्म सांसद बने तर, मन्त्री बन्न सकेका थिएनन्। एमालेबाट छुट्टिएर माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्माण भएको डेढ महिनामै खतिवडाले मन्त्री बन्ने अवसर पाएका थिए ।
कोरोना महामारी चलिरहेको चुनौतीपूर्ण स्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका खतिवडा आफ्नो कार्यकालमा धेरै राम्रो काम गरेको बताउँछन् । खतिवडाले ३० वर्षपछि मन्त्री बन्ने अवसर पाएका थिए तर पार्टीले फिर्ता बेलाउने निर्णय गरेसँगै संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका खतिवडाको मन्त्री पद गुमेको छ ।
आइतबार नेकपा एकीकृत समाजवादी पार्टीले संघीय सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने खतिवडासहित सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेर नयाँ नाम पठाएको छ । पार्टीले भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्याको जिम्मेवारी दिने निर्णय गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया