दल

घनश्याम भुसाललाई कारबाही सिफारिसबारे के भन्छन् ईश्वर पोखरेल र झपट रावल ?

इकागज |
जेठ २४, २०७९ मंगलबार १२:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताएका छन् । 

सोमबार संसद्‌ भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदै वरिष्ठ उपाध्यक्ष पोखरेलले घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरिनु पार्टीको आन्तरिक एजेण्डा भएको बताए । उनले सो विषय पार्टीको सम्बन्धित कमिटीमा आउने र छलफलपश्चात निर्णय लिइने बताएका हुन् ।


‘कुनै पनि चिज कमिटीमा छलफल हुन्छ । यदि कुनै विषय हो भने कमिटीमा आउँछ । छलफल हुन्छ । कमिटीले निर्णय गर्छ । बाहिर जसरी सुन्छु नि मैले, म न्यूजहरू हेर्छु । पढ्छु । मलाई पनि अचम्म लागेको छ' उनले भने  'केही इस्यू (मुद्दा) कुनै व्यक्ति विशेषको, कुनै निर्णय विशेषको, कुनै बोली विशेषको छ भने पनि कमिटीको आन्तरिक एजेण्डा हो यो । बाहिर पब्लिक कन्जम्सनको विषय होइन नि यो । त्यो विषय त छलफल गरौँला नि कमिटीमा हामी ।’ 

त्यस्तै, सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सांसद झपट रावलले पार्टीभित्रका कमी कमजोरीहरूलाई समीक्षा गरेर एकताबद्ध हुनुपर्ने बताए । पार्टीको आन्तरिक अवस्था सुदृढ नभएमा पार्टी बलियो हुन नसक्ने उनको भनाई छ । कोही पनि आवेग र उत्तेजनामा नआई पार्टीलाई एकढिक्का बनाउनुपर्ने उनले बताए ।

‘यतिबेला नेकपा (एमाले) एकताबद्ध भएर अगाडि जानुपर्छ । नेकपा (एमाले) का भएका कमी, कमजोरीहरू जे-जे छन् त्यसलाई हामीले आत्मसमीक्षा गरेर, ठन्डा दिमागले समीक्षा गरेर अगाडी बढ्नुपर्छ । आन्तरिक सुदृढ बेगर पार्टी बलियो बन्‍न सक्दैन' उनले भने 'हामी आवेग, उत्तेजनामा होइन कोही पनि आउनु हुँदैन । र पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ । यतिबेला चौतर्फी ढंगले नेकपा (एमाले) माथि आक्रमण छ । देशी, विदेशी सबैखालका प्रतिक्रियावादी शक्तिहरूले आक्रमण गरिराखेका छन् । यी कुराहरूलाई बुझेनौँ भनेदेखि हामीले तिनीहरूलाई सहयोग गरेको भन्‍ने ठहर्छ ।’

उनले एमालेमाथि चौतर्फी आक्रमण भइरहेको उल्लेख गर्दै सो कुरा पार्टी पंक्तिले नबुझेमा प्रतिक्रियावादी शक्तिहरूलाई सहयोग गरेको ठहरिने बताए ।


Author

थप समाचार
x