दल

मेटमणि भन्छन्- भोलिसम्म नयाँ मन्त्रीको शपथ हुन्छ

इकागज |
जेठ २५, २०७९ बुधबार १४:२४ बजे

काठमाडौँ - नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद् भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको शपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताए । उनले बुधबार(आज) नै शपथ ग्रहण हुनसक्ने सम्भावना रहेको पनि बताए । 

उनले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरूको शपथग्रहण रोकिएको बताए । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए । 


‘पार्टीले निर्णय गर्‍यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँच दलीय गठबन्धन भित्रकै एउटा दल हो,' उनले भने, 'हामीले शपथ ग्रहण गर्ने समय पक्का गर्दा जसपाका साथीहरूले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथग्रहण भोलि पक्कै हुन्छ ।’

उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक शपथ गराउनका लागि शपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

गत आइतबार नेकपा एसले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । पुरानालाई फिर्ता बोलाएसँगै नयाँ मन्त्रीहरूको नाम समेत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । तर, अन्तिम समयमा आएर नयाँ मन्त्रीहरूको शपथ रोकिएको थियो । 


Author

थप समाचार
x