दल

सत्ता गठबन्धन दलले एसपीपीका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने

इकागज |
असार ४, २०७९ शनिबार १५:४८ बजे

फाइल तस्बिर

काठमाडौँ - सत्ता गठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)का विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र आफूबीच शनिबार छलफल भएको र एसपीपीका बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।
शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा नेपालले एसपीपी सम्झौता नगर्ने यसअघि नै प्रधानमन्त्रीले स्पष्ट पारे पनि यसको चर्चापरिचर्चा धेरै भएकाले पुन: छलफल गर्ने बताए ।


अध्यक्ष नेपालले राष्ट्रिय अन्योललाई चिर्दै एसपीपीको सत्यतथ्य बाहिर ल्याउनुपर्ने उल्लेख गरे । एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यस विषयमा हंगामा मनाउने दल नै जोडिएको कुरा आएको उनले बताए । त्यस्तै उनले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भएको धारणा राखे ।

उनले देशभक्तिको झण्डा र लोकतन्त्रको झण्डालाई आफ्ना पार्टीले कहिल्यै नछाड्ने स्पष्ट पारे ।


Author

थप समाचार
x