दल

एक/दुई दिनमै मन्त्रीहरू फेरिन्छन् : माधव नेपाल

इकागज |
असार ५, २०७९ आइतबार १७:५ बजे

काठमाडौँ - सत्तासीन दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक/दुई दिनभित्रै मन्त्रीहरू फेरिने बताएका छन् । 

आइतबार नेकपा (एस)ले काठमाडौँमा आयोजना गरेको पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपालले प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र)ले एक/दुई दिन पर्खिदिन आग्रह गरेकाले नयाँ मन्त्रीहरूलाई पठाउने काममा ढिलाइ भएको बताएका हुन् । उनले अहिलेका मन्त्रीहरूलाई पठाउने बेलामा नै ६ महिनाका लागि मात्र भनेर पठाइएको जिकिर गरे । केही मन्त्रीहरूले त यो कुरा सार्वजनिक रुपमै समेत स्वीकारेको पनि उनको भनाइ छ । 


‘अहिलेका मन्त्रीहरूलाई पठाउने बेलामै ६ महिनाका लागि मात्र हो भनेर पठाएका थियौँ । कतिपय मन्त्रीहरूले उक्त कुरा स्वीकारेर बाहिर नै भन्‍नुभएको थियो- हामीलाई छ महिनाका लागि मात्र पठाइएको हो,’ उनले भने, ‘त्यसरी प्रष्ट भन्‍ने मन्त्रीहरूलाई विशेष धन्यवाद ।’

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पनि मन्त्री हेरफेर गर्ने सोचमा भएको र उनीहरूकै आग्रहमा एसले मन्त्रीहरू अहिलेसम्म नफेरेको  अध्यक्ष  नेपालको भनाइ छ । 

‘प्रधानमन्त्री र माओवादीका साथीहरूले हामीमा पनि त्यस्ता मागहरू आइरहेकाले केही दिन पर्खिदिनुपर्यो भनेका छन् । त्यसकारण हामीले एक/दुई दिन पर्खिनुपर्ने कुरा हुन्छ,’ उनले भने । 

अध्यक्ष  नेपालले आफूले प्रधानमन्त्री देउवाबाट अब दुई दिनभित्रै मन्त्रीहरू परिवर्तन हुने जवाफ पाएको बताए । 


Author

थप समाचार
x