दल

पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव गरेको छैन : देव गुरुङ

इकागज |
असार ६, २०७९ सोमबार १८:४० बजे

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरु परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्‍चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन गर्न प्रधानमन्त्रीलाई कुनै प्रस्ताव नगरिएको प्रष्टयाएका हुन् । उनले मन्त्रिपरिषद्को पुनर्गठन प्रधानमन्त्री र दलका नेताहरूको अनुभूतिको आधारमा हुने उल्लेख गर्दै पुनर्गठन हुनै सक्दैन भने भन्‍ने नसक्ने बताए ।


 अनिवार्य रुपमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने आवश्यकता पनि नभएको प्रमुख सचेतक गुरुङको भनाइ थियो । उनले भने, 'मन्त्रिपरिषद्को गठन, पुनर्गठन भन्‍ने कुरा प्रधानमन्त्रीको अनुभूतिको आधारमा हुने कुरा हो । दलका नेताहरूको अनुभूतिको आधारमा हुने कुरा हो कति परिवर्तन गर्ने, नगर्ने भन्‍ने कुरा उहाँहरुले विचार गर्ने विषय हो । त्यसकारणले गर्दाखेरी निरपेक्ष रूपमा पुनर्गठन हुनै सक्दैन पनि भन्‍न सकिँदैन । पार्टीको तर्फबाट अहिले प्रस्ताव गरेकै छैन नि । हामीले यो प्रस्ताव गरेको विषय होइन ।’

सचेतक गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा आएर बोल्नु राम्रो हुने धारणा समेत राखे ।


Author

थप समाचार
x