सरकार-प्रतिपक्षीबीच संवादहीनता : ओली भन्छन्- प्रतिपक्षी वैकल्पिक सरकार, त्योसँग परामर्श गर्नुपर्छ
फाइल तस्बिर
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा रहेको बताएका छन् । मंगलबार पूर्वराजदुतहरूको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्याएको बताएका हुन् ।
प्रधानमन्त्रीको विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने र सबै कुरा गोप्य राख्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरूबीच राष्ट्रिय सहमतिका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरेको ओलीको भनाइ थियो ।
'यो सरकार बनेपछि सामान्यतया: संवाद छैन । कुनै परामर्श नगरिएको छैन । सबै कुरा गोप्य राखिन्छ,' उनले भने, 'यस्तो लोकतन्त्र हुँदैन । सहमति किन बनिराखेको छैन ? किन संवाद भइराखेको छैन ? प्रतिपक्ष भनेको एउटा वैकल्पिक सरकार हो । त्योसँग परामर्श गर्नु पर्छ नै ।'
अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तराष्ट्रिय मञ्चहरूमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरूसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाए । अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया