दल

बाबुराम पक्षीय विस्तारित बैठक : चुनावी समीक्षादेखि आगामी कार्ययोजनासम्मका विषयमा छलफल हुने

इकागज |
असार २६, २०७९ आइतबार १३:१२ बजे

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रीय समितिको विस्तारिक बैठक मंगलबारदेखि काठमाडौँमा बस्दै छ । दुई दिन चल्ने बैठकमा छलफल हुने विभिन्न एजेण्डाहरू तय गरी सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई सूचना पठाइएको जसपाले जनाएको छ । 

केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीको आन्तरिक अवस्था, स्थानीय निर्वाचनको समीक्षा, संगठन, आगामी कार्ययोजनाबारे छलफल गर्ने एजेण्डा तय भएको जसपाका एक नेताले जानकारी दिए । उनकाअनुसार बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने छ ।


जसपामा आन्तरिक विवाद बढेका बेला एकै समयमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारिक बैठक र अध्यक्ष उपेन्द्र यादवल पक्षले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । अध्यक्ष यादवले असार २९ र ३० गते वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका छन् । त्यसअघि बाबुराम पक्षको विस्तारित बैठक २८ गतेदेखि सुरु हुनेछ ।

काठमाडौँमा बस्न लागेको विस्तारित बैठकलाई उपेन्द्र पक्षले अवैधानिक भनेको छ । पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शुक्रबार विज्ञप्तिमार्फत पार्टीको आधिकारिक बैठक वीरगन्जमा बस्ने लागेको र अवैधानिकरूपमा भएको भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गरेका थिए ।


Author

थप समाचार
x