दल

केन्द्रीय समितिमा शेखरले भने - महंगीले जनताको जीवन कष्टकर बन्यो, कर घटाउ

इकागज |
असार २७, २०७९ सोमबार २०:५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको बताएका छन् । कांग्रेसकै प्रधानमन्त्री शेर बहादुर देउवा हुँदा पनि महँगीले जनताको ढाड सेकिएको र बेरोजगारी दिनानुदिन बढ्दै गएको भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । 

आजबाट सुरु भएको कांग्रेस केन्द्रीय समितिमा बोल्दै कोइरालाले हुनेखानेहरुले समेत सामान्य जीवन बिताउन कठिनाई महसुस गरेको यो अवस्थामा गरीब, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको त्यसको पीडा बोध गर्नै नसक्ने बताए ।


उनले भने, `नेपाली कांग्रेसका पार्टी सभापति देशको प्रधानमन्त्री हुनुहुन्छ । जनताको दैनिक जीवन दिनानुदिन कष्टकर बन्दै गएको छ ।  महँगीले जनताको ढाड सेकिएको छ । बेरोजगारी दिनानुदिन बढ्दो छ । हुनेखानेहरु समेत सामान्य जीवन बिताउन कठिनाई महसुस गरेका छन भने गरीब, निमुखा, मजदुर तथा नागरिकको अवस्था के भएको होला हामी काठमाडौँ बसेर त्यसको पिडा बोध गर्न सक्दैनौँ ।` 

गर्भनर प्रकरणमा सरकारको असक्षमता छताछुल्ल भएको कोइरालाको भनाइ थियो । उनले भने, `सरकारले गभर्नर हटायो तर अदालतले पुनर्बहाली गर्यो । यसले आर्थिक क्षेत्रमा नकारात्मक सन्देश गयो ।`

कोइरालाले कर सम्बन्धी प्रावधान परिमार्जन गर्नुपर्ने बताएका छन् । बजेट निर्माणका क्रममा बजेटमा हस्तक्षेप गर्न अपरिचित व्यक्तिको प्रवेश गराएर केही खास व्यक्ति पोस्ने काम भयो भनेर सरकारको विरोध भइरहेको अवस्थामा कर सम्बन्धी प्रावधान परिमार्जन गरेर जनताको जनजीवन सहज बनाउन उनले सुझाए । 

कोइरालाले मुलुकको वर्तमान अर्थतन्त्र संकटोन्मुख रहेको, निजी क्षेत्र निराश भएको र आर्थिक अनुशासनहीनता बढेको बारे गम्भीर हुनसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले सरकारको कार्यक्षमतामाथि बुद्धिजीवी, संचार जगत, व्यवसायी तथा आम नागरिकले समेत प्रश्न गर्न थालेकाले यस विषयमा पार्टी गम्भीर बन्न जरुरी रहेको बताए । 

 


Author

थप समाचार
x