दल

देउवा र प्रचण्डको अपरिपक्व सोचले देश डुबाउनेछ : सुरेन्द्र पाण्डे

सुभाष कर्ण |
साउन २, २०७९ सोमबार १७:४१ बजे

जनकपुरधाम - नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं गठबन्धन दलका नेतृत्वकर्ता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अपरिपक्व सोचले देशलाई डुबाउने आरोप लगाएका छन ।

सोमवार जनकपुरधाममा आयोजित मधेश प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिका साथ रहेको र प्रचण्डले भारतको हात रहेको छ भन्ने अपरिपक्व सोचले देशलाई नै डुबाउने सम्भावना बढेको बताए ।


उनले प्रष्टयाउंँदै भने चीनलाई बेवास्ता गरी प्रधानमन्त्री देउवाले अमेरिकासँग सैन्य लेनदेनको सम्झौतातिर लागेका छन् भने प्रचण्ड भारत भ्रमणमा गएका छन् । अमेरिका र भारतसँग बढाएको नजिकताले चीन रिसाएको छ । चीन अहिले विश्वकै शक्तिशाली राष्ट्र बन्न अग्रसर छन् त्यससँग हामीले शत्रुता र्गन खोजियो भने हाम्रो मुलुक नै बर्बाद  हुनेछ ।

उपाध्यक्ष पाण्डेले यी दुईवटै नेताको यस्तो अपरिपक्व सोचले नेपालको सार्वभौमसत्तामाथि असर मात्र पार्दैन, देश सुदृढ बनाउन समेत बल पुग्दैन र अन्ततः नेपाल ध्वस्तको बाटो तिर लाग्ने निश्चित रहेको भने ।

उनले नेपाललाई कुनै राष्ट्रको विरुद्ध गोटीको रुपमा प्रयोग हुन नदिन र देउवा तथा प्रचण्डको अपरिपक्व सोचलाई सफल हुन नदिने जिम्मेवारी अब एमालेको काँधमा आएकोले देशमा जागरण अभियान चलाउनुका साथै संघर्ष र आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

सो प्रशिक्षण कार्यक्रममा पछिल्लो स्थानीय तह निर्वाचनको समीक्षा गर्दै उपाध्यक्ष पाण्डेले भने, अब देशमा चुनाव जित्न पर्चा पम्पलेट, सभा, जुलुस र शक्ति प्रदर्शन लगायतका परम्परागत शैली परिवर्तन गरी आधुनिक टेक्नोलोजीको प्रयोग गर्नुपर्छ ।

भर्खरै निर्वाचित काठमाडौको मेयर बालेन शाह र धरान मेयर हर्कबहादुर सम्पाङ्गको उदाहरण दिदै भने तिनीहरुले एक्लै भएपनि आधुनिक टेक्नोलोजी सामाजिक सञ्जालको प्रयोग चुनाव जितेका छन, आउँदो निर्वाचनमा हामीले पनि त्यसको अनुसरण गर्न जरुरी छ ।

मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा स्थायी समिति सदस्य प्रभु साह र रघुवीर महासेठले पनि प्रशिक्षण दिएका थिए । साहले पार्टी प्रचार प्रसार र आगामी निर्वाचनका तयारी बारे प्रशिक्षण दिएका थिए । 


 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x