गठबन्धन फोड्न चाँदीको तरबार बनाउन आवश्यक छैन आफै फुट्छ : ओली
फाइल फोटो
काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आफैं फुट आउने दाबी गरेका छन् ।
अध्यक्ष ओलीले कतिपयले सत्तारुढ गठबन्धन फोडौं भन्ने गरेको प्रसंग उल्लेख गर्दै त्यो आफैं फुटेर जाने बताएका हुन् । बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आवद्ध दलहरु सबै स्वार्थी पूँँजीवादी बाटोमा हिँडेकाले उनीहरु कहिल्यै एकताबद्ध हुन नसक्ने तर्क समेत गरे ।
सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै अध्यक्ष ओलीले उनीहरुको एकतालाई फोड्न चाँदीको तरबार बनाउन आवश्यक नरहेको पनि बताए । देश बनाउने पार्टीको महान उद्देश्यमा सो गठबन्धन तगारो बनेकाले आगामी निर्वाचनपछि उनीहरुलाई मिल्काएर फाल्नुपर्ने अध्यक्ष ओलीको चेतावनीयुक्त भनाई थियो ।
उनले भने, ‘सबभन्दा अगाडि त एउटा प्रतिक्रियावादी मनसाय बोकेको, देशद्रोही मनसाय बोकेको भ्रष्ट गठबन्धन नामको अपवित्र एउटा चिज छ । त्यो अनेक हिसावले हामीलाई असफल बनाउने आउने, हाम्रा महान उद्देश्यतर्फ तगारो बनेर त्यो बीचमा आउनेछ । त्यसलाई हामीले मिल्काउनु पर्नेछ । कतिले भन्छन–यो गठबन्धन फौडौं । समयक्रममा गठबन्धन आफैं फुट्छ । स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकतावद्ध हुने सम्भावना नै हुँदैन । यो स्वार्थको खेल हो यिनीहरुको । उद्देश्यमा, गन्तव्यमा एकता होइन । स्वार्थको एकता हो यो । तसर्थ उनीहरुको स्वार्थको एकता स्वार्थको टकरावमा समाप्त हुन्छ । यो नियम हो । त्यसकारण हामीले धेरै हतार गरेर यिनीहरुको यो एकता फोडनका लागि एकदम चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यक्ता छैन । यो एकता स्वार्थको टकरावबाट फुट्छ आफ्नै हिसावले ।’
ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी ढिक्का भएर अघि बढने समेत बताए । स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीका कार्यकर्ताहरु इमानमा नरहने अवस्था अब नआउने र आगामी निर्वाचनमा आफ्नो पार्टी विजयी हुने उनले बताए ।
ओलीले स्थानीय तह निर्वाचनमा जस्तो पार्टीमाथि नै घात नगर्न पनि पार्टीका कार्यकर्तालाई सचेत गराए । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले एमालेले हा¥यो भनेर गरेको प्रचारको भ्रममा नपर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।
अर्काको रुखबाट झरेको पात अलिअलि डोकोमा जम्मा गरेकाहरुले स्थानीय तह निर्वाचनमा एमाले समाप्त भयो भन्न नमिल्ने अध्यक्ष ओलीको भनाई थियो ।
उनले भने, ‘हामी हाम्रा महान अभिभाराहरु पूरा गर्न हाम्रा अगाडिका गम्भीर चुनौतीहरुलाई पराजित गर्नका लागि नेकपा (एमाले) एक ढिक्का भएर उभिन्छ । एक ढिक्का भएर अगाडि जुध्दै तिनलाई पराजित गर्दै विजय हासिल गर्छ । यसमा हामी सबै प्रतिवद्ध छौ नि होईन ? इमान्दारिताका साथ लाग्छौं होइन ? हामी इमान्दारिताका साथ लाग्छौं । अस्तीको चुनावजस्तो कुनै पनि हालतमा हुन दिँदैनौं । यो हाम्रो संकल्प हो । हाम्रो प्रतिवद्धता हो । अस्तीको चुनाव राम्रो भएन । तर, हाम्रा विरोधीहरुले भनेजस्तो १०÷१५ वटा सिट ल्याएको छ । त्यहीँ पनि अर्काको भरमा । अर्कोको रुखबाट झरेको पात भेला गरेर डोकोमा हालेको छ अलिअलि । अनि त्यो अलिअलि डोकोमा हालेर एमालेको त वनै समाप्त हो भन्ने ? न आफ्नो विरुवा छ,न अरु छ । एमालेसँग अहिले हा¥यौै भन्दाखेरी पनि दोस्रो पार्टी सिटको हिसावले पनि एमाले नै होला । २०६ सिटमा एमाले नै जितेको होला नि । कसैले हात पेल्ने, कसैले पिँडुला टोक्ने, तिघ्रामा उफ्रिउफ्रि भम्टिने सबै गर्दा पनि काँग्रेस भन्दा एक लाख बढि मत एमालेले ल्याएको होला नि । अहिले विभिन्न खोजमेल, गोडमेल, पैँचौ, सापटी गर्दा पनि ३ प्रतिशत पु¥याउन नसक्नेले एमाले हा¥यो भनेर गरेको हल्लाको पछाडि परिरहनु जरुरी छैन ।’
ओलीले सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा हुन नदिने खतरा बढेर गएको आरोप लगाए । आगामी मंसिर भित्र दुवै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएपनि त्यसलाई पर सार्ने खतरा सत्तारुढ दलहरुबाटै हुने उनको आशंका थियो ।
ओलीले संविधान अनुसार फागुनमा हुनुपर्ने स्थानीय तह निर्वाचनलाई पनि आफूहरुको प्रयासले मात्रै बैशाख अन्तिममा गराउन सम्भव भएको जिकीर समेत गरे ।
उनले भने, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसको परिणाम आईसकेको छ । त्यस सम्बन्धमा विभिन्न भ्रान्त धारणाहरू र त्यसलाई आधार बनाएर भ्रान्त धारणाहरु फैलाउन खोजिएको छ । यस्तो अवस्थामा यो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । अर्कातिर मंसीरमा संघीय संसदको लागि आम निर्वाचन र प्रदेशसभाहरुका लागि निर्वाचन हुनुपर्नेछ । यो निर्वाचन विभिन्न बहाना बनाएर पर सार्ने खतरा छ । संविधानमाथिको थिचोमिचो, हामीले स्थानीय तहको निर्वाचनमा पनि देख्यौँ । फागुनमा कानुन बमोजिम हुनुपर्ने निर्वाचन बैशाख अन्तिममा मात्रै भयो । अन्तिममा हुने स्थिति बन्यो । त्यो पनि नगर्ने, आगामी चैत्रमा मात्रै गर्ने भनेर गठबन्धनका नेताहरुले बोलिरहेका थिए, प्रयास गरिरहेका थिए । हाम्रो अगुवाईमा राष्ट्रिय प्रयासबाट ती असंवैधानिक सोच, क्रियाकलापविरुद्ध उठेको हुनाले त्यो सफल भएन । र, ढिलो गरेर भएपनि अन्तिम अवधि भित्रमा अर्थात बैशाख अन्तिममा स्थानीय निर्वाचन गर्नुप¥यो । ’
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ धकेल्न खोजेको भन्दै आपत्ति समेत जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया