प्रकाशमान सिंहले भने- ०४८ मा कृष्णप्रसाद भट्टराईलाई हराउँदा देश दुरावस्थामा पुग्यो
काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा तत्कालीन कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश अहिले दुरावस्थामा पुगेको बताएका छन् ।
शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त भएको र 'पावर बेस' राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निरासा बढेको उल्लेख बताए ।
२०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो ।
‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने । अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकका सामु गम्भीर चुनौती देखापरिरहेको समेत बताए ।
राजनीतिक दलहरु विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले राजनीतिक दलहरूका कार्यशैली सच्चिनुपर्ने समेत बताए । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको समेत उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया