दल

सिट बाँडफाँटबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताहरूको बैठक

इकागज |
साउन २३, २०७९ सोमबार ८:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् । सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ । 


सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ । 

बैठकमा पार्टीका तर्फबाट कार्यदलमा रहेका नेताहरू समेत सहभागी हुनेछन् ।


Author

थप समाचार
x