दल

नेतृत्व आर्थिक मोहबाट मुक्त बन्नुपर्दछ : उपसभापति गुरुङ

इकागज |
भदौ ४, २०७९ शनिबार २१:२ बजे

गण्डकी - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले समाज र देशको नेतृत्व गर्छु भन्ने जो कोही आर्थिक मोहबाट मुक्त हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिको तेस्रो अधिवेशन तथा तीज विशेष कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै बदल्न नसकिएको विद्यमान अवस्थामा नेतृत्वमा जानेहरू पारदर्शी एवं जनउत्तरदायी बन्नुपर्ने बताए । 

देशका पूर्वपदाधिकारीका नाममा राज्यबाट लिइने सुविधा छोड्नुपर्ने बताउँदै उनले नेतृत्वमा इमान्दारीता र जिम्मेवारिता अपरिहार्य भएको बताए । उनले नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई अझै बलियो बनाउँदै देखिएका विकृति, विसङ्गति अन्त्य गर्दै जानुपर्ने आवश्यकता औँल्याए । 


नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिका माध्यमबाट पार्टी संगठनमा खेलेको भूमिकाको प्रशंसा गरे । कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार एवं पर्यटन व्यवसायी कृष्णकुमार श्रेष्ठले पार्टी संगठनलाई बलियो बनाउनका लागि आर्थिक पारदर्शिता, कार्यकर्ताको उचित मूल्यांकन हुनुपर्नेमा जोड दिए । 


Author

थप समाचार
x