गोकुलको अपार्टमेन्टमा प्रचण्ड-माधवको छलफल : चुनावअघि नै पार्टी एकता संयोजन समिति
फाइल तस्बिर
काठमाडौँ- पार्टी एकता गर्ने चर्चा चलिरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ । सोमबार बिहान प्रचण्डको भान्जा गोकुल भण्डारीको हात्तिवनस्थित अपार्टमेन्टमा उनीहरूबीच छलफल भएको हो ।
छलफलमा प्रचण्ड, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका सहभागी थिए । आजको छलफलमा नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनाल पनि सहभागी हुने बताइए पनि पार्टी प्रशिक्षण कार्यक्रमका लागि गुल्मी भएकाले सहभागी हुन नसकेको बताइएको छ ।
बैठकमा एकता संयोजन समिति र चुनावी घोषणापत्रका विषयमा छलफल भएको माओवादीका एक नेताले इकागजलाई बताए । बैठकमा डा. बाबुराम भट्टराई र वामदेव गौतमको विषयमा पनि छलफल भएको ति नेताले बताए । 'वामदेवलाई पनि गठबन्धनबाटै उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो' ति नेताले इकागजसँग भने 'अबको गठबन्धनको बैठकमा माओवादी र समाजवादीले यो विषय प्रस्ताव गर्छ ।' गौतम र डा. बाबुराम भट्टराई पनि माओवादीको चुनाव चिन्हमा उम्मेदवार हुने भएपछि उनीहरूलाई पनि समेटेर चुनाव अगाडी पार्टी एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको उनले बताए ।
'सत्तारुढ दलभित्र सिट बाँडफाँटको तयारी भइरहेको छ । यसैलाई मध्यनजर गरेर आजको बैठकमा छलफल भएको थियो' उनले भने 'सत्ता गठबन्धन दलभित्रकै वाम पार्टीहरुले चुनाव अगाडी नै पार्टी एकता संयोजन समिति बनाउने पनि तयारी छ । बाबुराम र वामदेवलाई पनि समेट्ने कुरा छ ।' चुनावलगत्तै माओवादीसँग पार्टी एकता गर्न समाजवादीले वार्ता टोली बनाउने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया