सैनिक अधिकारीहरूलाई भेटेर के गर्न खोजेका छन् राष्ट्रपतिले ?
फाइल तस्बिर
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक अधिकारीहरूसँग भेट गर्नुले शंका जन्माएको बताएका छन् ।
बिहीबार पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका अधिकारीहरूलाई निवासमा बोलाएर डिनर गराउनुले शंका जन्माएको बताएका हुन् । उनले कुनै अनिष्ट हुने हो कि भन्ने प्रश्न उठेको उल्लेख गरे ।
अध्यक्ष नेपालले राष्ट्रपति र नेपाली सेनाका अधिकारीहरूको बीचमा भएको भेटवार्ताको सम्बन्धमा गठबन्धनमा छलफल भएको पनि जिकिर गरे । उनले नेपाली राजनीतिमा प्रतिगामी र राजतन्त्रवादी लगायतका शक्तिहरूको क्रियाशीलताको सम्बन्धमा पनि आफूहरूको नजर पुगिरहेको बताए । उनले भने, ‘राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले पूर्व सैनिक अधिकारीहरूलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन, डिनर दिने कामहरू भयो यसले शंका जन्माएको छ । के गर्न खोजेका छन् राष्ट्रपतिले ? भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट त हुने होइन ? भन्ने प्रश्नहरु पनि खडा भएको छ ।’
अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा आएको नतिजाप्रति गौरव बोध गर्नुपर्ने बताए । उनले २७ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भन्दा बढी भोट पाएको उल्लेख गर्दै सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट पाउने दाबी गरे । उनले २० लाख भोट पाए पार्टीको २० सिटलाई कसैले रोक्न नसक्ने बताए । उनले आगामी निर्वाचनमा समानुपातिक मतले पार्टीको हैसियत देखाउने भएकाले पार्टीको चुनाव चिन्ह प्रचार प्रसारमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
अध्यक्ष नेपालले सबै पालिकामा पार्टीको संगठन निर्माण गर्न र संगठनलाई चलायमान बनाउन निर्देशन दिए । त्यस्तै पार्टी संगठन र सदस्यहरूको अभिलेखिकरण गर्नुपर्नेमा उनले जोड दिए । उनले चुनावी अभियानमा जुट्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया