दल

तनहुँमा उम्मेदवार बन्न काङ्ग्रेस केन्द्रीय नेताको आवेदन

इकागज |
भदौ १३, २०७९ सोमबार १८:५७ बजे

फाइल फोटो

तनहुँ - मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आकांक्षीहरू को आवेदन संकलन गरेकामा आजसम्म तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि चार जनाले आवेदन दर्ता गराएका छन् । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि आवेदन दर्ता गराएका छन् । 


वरिष्ठ नेता पौडेलले भतिज उद्धव पौडेलमार्फत नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालयमा आवेदन दर्ता गराएका हुन् । सुशासन, पारदर्शिता र गाउँको विकासलाई प्राथमिकता दिन आफू उम्मेदवार बन्न इच्छुक रहेको उल्लेख गरेका छन् । केही समय अगाडि गृह जिल्ला आउँदा पौडेलले आफू क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताएका थिए । 

केन्द्रीय सदस्य भण्डारीले जिल्ला सदस्य डम्बरबहादुर अधिकारीमार्फत आवेदन दर्ता गराएका हुन् । भट्टराईले आइतबार आफैँ आवेदन दर्ता गराएका थिए । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि आज कसैले आवेदन दर्ता नगरेको क्षेत्रीय सभापति चुडामणि खनालले जानकारी दिए । प्रदेशतर्फ भने प्रत्यक्ष र समानुपातिकका लागि आवेदन दर्ता गरिएको छ ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि कांग्रेस तनहुँले आकांक्षी उम्मेदवारको नामावली संकलन सुरु गरेको छ । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीको नामावली संकलन गरिएको हो ।

तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ भदौ १४ गते बेलुकासम्म आन्तरिक उम्मेदवारी दर्ता गर्न सकिने क्षेत्रीय सभापति श्यामकुमार मौरातीले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ दलितमा यमुना खड्का विक र खुल्ला महिलामा मिरा जोशीले आवेदन दर्ता गराएका छन् । 

तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दीपक भट्टराई, डोबाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शंकर पौडेलले आवेदन दर्ता गराएका छन् ।  

समानुपातिकतर्फ कुलचन्द्र वाग्ले, कल्पना पोखरेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेल, कृष्ण रुचाल, उदयराज गौली, चिनु पोखरेल, ताराप्रसाद श्रेष्ठ, छत्रराज भण्डारी, विणा कैनी, वृषराज श्रेष्ठ, टेकबहादुर गुरुङ, समुन्द्र गोदार, नारायणी अधिकारी, श्यामकुमार मौराती र प्रताप गुरुङले आवेदन दर्ता गराएका छन् । 

प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी, अर्जुन अधिकारीले आवेदन दर्ता गराएका छन् । 

समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ, पवित्रा गौली, केशबहादुर सुनार, तमबहादुर दरै, विद्या खनाल नागिला, अमृतबहादुर नेपाली, बाबुराम श्रेष्ठ, राधादेवी खनालले आवेदन दर्ता गराएका छन् । 

क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गराएकामध्ये प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ एक महिलासहित दुई जनाको नामावली सहमति भए सहमतिमा र नभए बहुमतीय आधारमा छनोट गरी जिल्ला कार्यसमितिमा सिफारिस गरिने क्षेत्रीय सभापति मौरातीले बताए । 

तनहुँ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका लागि भदौ १६ गतेभित्र क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गर्न आग्रह गरिएको क्षेत्रीय सभापति चुडामणि खनालले बताए । काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने तयारी गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र केन्द्रीय समितिलाई पठाउने भएको हो ।

तनहुँका दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा आकांक्षीको नामावली संकलन गरी सम्बन्धित समितिबाट नामावली सिफारिस भई जिल्ला समितिमा आउने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । रासस


Author

थप समाचार
x