कास्कीको दुई निर्वाचन क्षेत्रमा २७ जना आकांक्षी
पोखरा - आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि कास्कीबाट प्रत्यक्ष र समानुपातिक दुवैको नाम संकलन गरिएकोमा क्षेत्र २ बाहेक १ र ३ मा आकांक्षीको छनोट सकिएको छ ।
प्रतिनिधिसभा चुनावका लागि क्षेत्र १ र ३ बाट प्रत्यक्षमा २७ र समानुपातिकमा १९ जनाले दाबी गरेका छन् । क्षेत्र नम्बर १ बाट प्रत्यक्ष १७ र समानुपातिक ९ जनाले दाबी गरेका हुन् । क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष र समानुपातिकका लागि समान १०/१० जनाको दाबी छ ।
कास्कीको एक नम्बर क्षेत्रबाट नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापालाई कास्कीबाट सांसद बनाउन आवेदन दिइएको छ । तर, गगनले भने आफू काठमाडौं क्षेत्र ४ बाटै चुनावमा उठ्ने सामाजिक संजालमार्फत स्पष्ट पारेका छन् । जिल्ला सचिव भानु ढकालले गगनको नामबाट उम्मेदवार बन्ने निवेदन दिएका हुन् ।
यसैगरी, कांग्रेस सहमहामन्त्री जीवन परियारसहित केन्द्रीय सदस्य गुरु बराल, कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, निवर्तमान सभापति कृष्णबहादुर केसी, पूर्व मन्त्री तथा पूर्व जिल्ला सभापति यज्ञबहादुर थापाले आंकाक्षा व्यक्त गरेका छन् ।
यसैगरी सरस्वती गुरुङ, सुदीपमोहन भट्टराई, तिलकबहादुर रानाभाट, विश्व घिमिरे, वीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, होमबहादुर बसेल ‘बिमल’, सुनिल गुरुङ र चतुराखर अधिकारीको दरखास्त परेको क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेले जानकारी दिए ।
समानुपातिकतर्फ पूर्व सभामुख तारानाथ रानाभाट, कांग्रेस नेतृ सरस्वती गुरुङ, नेताहरु तीर्थ जंगली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मियाँ, बिन्दु भण्डारी, इ. रामबहादुर केसी र तर्कजंग गुरुङले नाम टिपाएका छन् ।
कास्की क्षेत्र ३ मा प्रत्यक्षतर्फ मनोज गुरुङ, गंगाधर पराजुली, बाबुराम आचार्य, आशबहादुर गुरुङ, ललित गुरुङ, रामचन्द्र त्रिपाठी, पशुपति भट्टराई, दीपक गुरुङ र इ. यमकृष्ण पौडेलले आवेदन दिए ।
समानुपातिकतर्फ महादेव गुरुङ, खिमलाल बास्तोला, गंगा केसी, शारदा पौडेल, खेमराज पौडेल, कृष्णकुमारी परियार, अब्दुल रसिद, मनबहादुर विक, रामप्रसाद अधिकारी, अमृत श्रेष्ठले नाम टिपाएका क्षेत्रीय सभापति मनोज गुरुङले जानकारी दिए ।
क्षेत्रीय कार्यसमितिमा आएको नाम मध्ये प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ २ जनाको नाम जिल्लामा सिफारिस गरिने उनले बताए । ‘आकांक्षी धेरैले समितिको निर्णय मान्य हुने भनेर सहमती जनाउँनुभएको छ,’ उनले भने, ‘बिहीबारको बैठकमा विधान अनुसार नै प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ २ जनाको नाम सिफारिस गर्नेमा हाम्रो ध्यान हुनेछ ।’ क्षेत्र २ मा बिहीबारमात्रै नाम संकलन गरिने क्षेत्रीय सभापति केशर निर्दोषीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया