दल

ममाथि जनयुद्धदेखि अहिलेसम्म प्रहार भयाे : प्रचण्ड

इकागज |
भदौ २३, २०७९ बिहीबार १७:२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको बताएका छन् ।

बिहीबार काठमाडौँमा सहिद सुरेश वाग्ले(वासु) स्मृति प्रतिष्ठानले काठमाडौँमा गरेको कार्यक्रममा प्रतिक्रियावादीसँगको संघर्षकै कारण माओवादी र आफूमाथिको प्रहार नरोकिएको बताएका हुन् ।


माओवादीलाई अस्थिरताको कारक देखाएर प्रचण्डलाई सिध्याउनुपर्छ भन्नेहरू सक्रिय रहेको उनको भनाइ छ । उनले जनयुद्धपछिको सम्झौता तात्कालिक आवश्यकता रहेको भन्दै जनयुद्धको बाँकी एजेण्डा पूरा गर्नका लागि आफू निरन्तर संघर्षमा रहेको धारणा राखे ।​

प्रचण्डले नेपाली जनताको साथ र सहयोगका कारण माओवादी पहिलोपटक सरकारमा पुग्दा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने माइन्युटमा सही गरेको तर राजपत्रमा प्रकाशित हुन नसकेकाले उक्त लडाई गठबन्धनबीच अहिले पनि जारी रहेको बताए ।

कार्यक्रममा कम्युनिष्ट ऋषि कट्टेलले कम्युनिष्ट आदर्शलाई बिर्सन नहुने धारणा राखेपछि प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनलाई फुटाउने काम ऋषि कट्टेलबाटै भएको तर्क गरे ।

उनले आदर्शका कुरा गर्न सजिलो हुने तर व्यवहारमा उतार्न कठिन रहेको जिकिर गरे । कार्यक्रममा प्रतिष्ठानले प्रकाशित गरेको स्मृति ग्रन्थ विमोचन गरिएको थियो । 


Author

थप समाचार
x