दल

पाँच वर्ष सरकार होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ : महामन्त्री शर्मा

इकागज |
भदौ २४, २०७९ शुक्रबार १२:३३ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नवीन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । शुक्रबार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०९औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तरतामा नवीनता थपेर अघि बढाउन आवश्यक रहेको बताएका हुन् । 

विगतका कमी कमजोरीलाई आत्मालोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको उनको भनाइ छ । ‘हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ,' उनले भने, '७० वर्षदेखि एउटा धारामा बगेको दल छ । निरन्तर यात्रालाई अघि बढाउँदै नवीनता पनि अघि बढाउनुपर्छ । कमजोरीलाई आत्मालोचना गरेर जानुपर्छ ।' 


पाँच वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने उनले बताए । उनले सबै पक्षलाई समेटर घोषणापत्र बनाउने बताए । 'नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताबीच नेपाली काँग्रेसलाई बलियो दलको रूपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ,' उनले भने, 'अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नवीनता ल्याउनुपर्छ । निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ ।’ 

महामन्त्री शर्माले उज्यालो अनुहार बनाएर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रूपमा बहुमत लक्षित दलको रूपमा स्थापित गर्न अग्रसर हुने बताए ।


Author

थप समाचार
x