चुनावअघि माओवादी केन्द्रसँग कार्यगत एकता: खनाल
फाइल तस्बिर
कास्की- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नभएको र कार्यगत एकतामात्र हुने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनले आज साँझ पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आसन्न निर्वाचनमा दुई पार्टीको घोषणापत्रसहित चुनावी तालमेल भए पनि एकता नहुने स्पष्ट पारे ।
उनले भने, 'विगतको निर्वाचनमा माओवादी र एमाले साझा घोषणापत्र बनाएर चुनावमा गएका हुन्, अहिले पनि समाजवादी र माओवादी एउटै घोषणापत्र लिएर जान कुनै समस्या छैन ।'
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले आफू सधैँ वाम गठबन्धन र कम्युनिष्ट एकताका पक्षमा रहे पनि वाम घटकका नेतृत्वमा रहेका नेताहरूले एकतामा रुचि नदेखाएको जिकिर गरे ।
सत्ता गठबन्धनका दलका बीच चुनावी तालमेलको निर्णय भइसकेकाले गठबन्धन हुने निश्चित भएको र सिट बाँडफाँटमा पनि ९० प्रतिशत सहमति भएकाले ढिलोमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने बताए । सम्मानित नेता खनालले आगामी निर्वाचनमा राष्ट्रियताका लागि लड्ने उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।
उनले भने, 'देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान र समाजवादका लागि लड्ने योद्धालाई निर्वाचनमा विजयी बनाउनु आवश्यक छ ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया