अदालत प्रांगणमा भेटिएको अवैध सन्तान कस्को हो : अध्यक्ष ओली
पोखरा - नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अवैध सन्तानको संज्ञा दिएका छन् ।
पोखरामा जारी नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारलाई जनादेशबाट नभइ परमादेशबाट अवैध रुपमा बनेको उल्लेख गरे । ‘यो अपवित्र गठबन्धन, गलत मनसायले कसले बनाएको हो । यो अवैध सन्तान कसको हो भन्ने थाहा छैन्,’ उनले भने, ‘ अदालत प्राङ्गणमा भेटिएको हो तर अवैध सन्तान कसको हो? जनताले बनाएको त होइन् ।’
उनले परमादेश सरकारले देशलाई दुर्घटनातर्फ धकेलेको बताउँदै अध्यक्ष ओलीले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि चुनावमा एमालेले जित्नै पर्ने दबाब रहेको धारणा राखे । ‘मंसिर ४ गतेको चुनाव एमालेले जित्नै पर्छ, उनले भने,‘ सामाजिक न्याय प्राप्तिका लागि, समाजिक सद्भाव कायम गर्न, विकासको पूर्वाधारमा तिव्रता दिन, समानता कायम गर्न एमालेले चुनाव जित्नै पर्छ ।’
उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेसहोल्ड क्रस गर्न नसक्ने दाबी गरे । ‘अहिले ति मान्छेहरु चोक्टा खान गएका झोलमा डुबेर फट्याक फट्याक भइरहेका छन् । यो चुनावमा प्रचण्डको पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ । माधव नेपालको पार्टीले थ्रेसहोल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसदमा पुग्दैन,’ उनले भने, ‘तपाईहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला । नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आफूबाहेक कार्यकर्ता नै रहँदैनन् ।’
गठबन्धन सरकारले गलत गरिरहेको समयमा आगामी निर्वाचनमा नेकपा एमालेलाई प्रमुख पार्टी नभएर बहुमतवाला पार्टी बनाउने गरी खटिन नेता तथा कार्यकर्ता हरुलाई उनले आग्रह गरे । गण्डकी प्रदेशमा स्याङ्जाको केही बुथ अझैपनि कब्जामा हुने गरेकाले त्यसलाई रोक्न सरकारलाई उनले चुनौती दिए । बुथ कब्जा नगरी त्यहाँका नागरिकहरुलाई स्वतन्त्र रुपले भोट हाल्ने वातावरण निर्माण गर्न उनले सरकारलाई सुझाव दिए । पार्टीमा ९ लाख सक्रिय सदस्य र सोही अनुसार संगठन भएका कारण पार्टीले क्षती व्यहोर्नु परे आफ्नै गल्ती हुने तर्फ पनि उनले सजग गराएका थिए ।
पोखरामा मंगलबारदेखि सुरु भएको नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन बुधबार सकिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया