दल

कांग्रेसमा श्रमिकको प्रतिनिधित्व गराउँछु : सभापति थापा

इकागज |
भदौ २९, २०७९ बुधबार १६:७ बजे

 भक्तपुर - नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आगामी अधिवेशनदेखि भक्तपुर कांग्रेसमा श्रमिक प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ ,भक्तपुर जिल्ला समितिको पाँचौ अधिवेशनको उद्घाटन गर्दै यस्तो विचार राखेका हुन् । 


कार्यक्रममा उपस्थित श्रमिक नेताहरूले पार्टीले श्रमिकलाई बिर्सिँदै गएको धारणा राखेपछि सभापति थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिकहरुको महत्त्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै आगामी अधिवेशनदेखि भक्तपुरबाट एक महाधिवेशन प्रतिनिधि र एक जिल्ला कार्यसमितिमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजय कुमार राईले नाईलगायत अनौपचारिक क्षेत्रका श्रमिकहरुले कुनै आस बिना लोकतान्त्रिक आन्दोलनमा जिउँ ज्यान आहुती गरेपनि राज्य बेखबर बनेको आरोप लगाए ।

ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङले नाई क्षेत्रमा कार्यरत श्रमिकको जीवनयापन सहज बनाउने एक मात्र उपाय योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्ने भएकोले ट्रेड युनियन कांग्रेस यसमा लागिरहेको बताए । 

नेपाल नाई संघका केन्द्रीय अध्यक्ष राजाराम ठाकुरले नाईहरूको हकअधिकार  सुनिश्चित गर्न सबै नाई एक हुनुपर्ने विचार राखे । ठाकुरले आफू विगत तीन दशकदेखि हरेक लोकतान्त्रिक आन्दोलन र श्रमिक हक अधिकारकालागि लड्दै आएकोले पार्टीले आउदै गरेको निर्वाचनमा नाईहरूलाई समेट्नु पर्ने माग राखे । 

पाँचौ जिल्ला अधिवेशनले विनोद ठाकुरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

 


Author

थप समाचार
x